प्रतिदिन दैनिक १५ औँ वर्षमा

झापामा हात्ती पाइले रोगको संक्रमण दर २.३३ प्रतिशत

सुब्रत न्यौपाने, झापा झापामा हात्तीपाइले रोगको संक्रमण दर घट्दै गएको छ । आमऔषधि सेवन कार्यक्रमपछि संक्रमण दर घटेर हात्तीपाइले रोग निवारणको अवस्थामा पुगेको हो । औषधि सेवन अगाडि र पछाडिको संक्रमण दरमा आकाश पातालको फरक देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सरकारले आमऔषधि सेवन कार्यक्रम सुरु गर्नु अगाडि झापामा हात्ती पाइलेको संक्रमण दर प्रतिसय जनामा २४ थियो । औषधि सेवन कार्यक्रमले निरन्तरता पाइरहँदा संक्रमण दर घटेर २.३३ प्रतिशतमा सीमित भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।

‘संक्रमणदर २ प्रतिशत भन्दा तल झरेपछि हात्तीपाइले रोग उन्मुलनको प्रक्रियामा जान्छ’, फोकल पर्सन चौलागाईले भने, ‘झापा हात्तीपाइले रोगको जोखिम र प्रभावबाट मुक्त हुने क्रममा छ ।’

हात्ती पाइले रोगविरुद्ध आमऔषधि सेवन कार्यक्रमका विषयमा सरोकारवालालाई अवगत गराउँदै स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाई ।

सुरुका वर्षमा आमऔषधि सेवन कार्यक्रममा देखिएको निराशाजनक प्रगतिले संक्रमण दर घट्न सकिरहेको थिएन । पछिल्ला वर्षमा औषधि सेवनकर्ताको संख्या बढ्दै जाँदा हात्ती पाइलेको संक्रमण दर ओरालो लागेको स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरेले बताए ।

गतवर्ष आमऔषधि सेवन कार्यक्रममा तोकिएको समूहका ८५ प्रतिशत जिल्लाबासी सहभागी भएका थिए । अघिल्लो वर्ष कूल जनसंख्यामध्ये तोकिएको समूहका ६८.५१ प्रतिशत नागरिक मात्रै सहभागी हुँदा आमऔषधि सेवन कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको थियो ।

झापामा हात्ती पाइलेका २८९ जना विरामी छन् । तीमध्ये १४३ जनामा हाइड्रोसिलको समस्या छ । छ जनाको स्तन सुनिएको छ । उनीहरु उपचारका क्रममा छन् ।

यसवर्ष झापाका आठ लाख ४३ हजार नागरिकलाई औषधि खुवाउने लक्ष्यका साथ २८ फागुनदेखि अभियान सुरु भएको छ । तोकिएको उमेर समूहका ९२ हजार झापाबासीले भने यसपटक औषधि सेवन गर्ने छैनन् । औषधि सेवन नगर्ने समूहमा दुई वर्षमुनिका बालबालिका, गर्भवती तथा सात दिनसम्मका सुत्केरी र ओछ्यान परेका सिकिस्त विरामी पर्छन् ।

आमऔषधि सेवन कार्यक्रमका लागि १२०० जनाको जनशक्ति परिचालन गरिएको छ । जसमा ६०० जना स्वस्थ्यकर्मी छन् । बाँकी स्वयम्सेवकका रुपमा परिचालन गरिएको फोकल पर्सन चौलागाईले जानकारी दिए ।

सातदेखि १० दिनसम्ममा अभियान सक्ने गरी गाउँ टोलमा स्वास्थ्यकर्मी खटाइएको छ । विद्यालय, चिया बगान, सरकारी कार्यालय लगायतका ठाउँलाई कार्यालयले प्राथमिकतामा राखेको छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *