- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
बिर्तामोड– झापा बुद्धशान्ति नगरपालिका–३ का दीपक भट्टराईले स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले बेला मोटर्स प्रालि काठमाडौँले उत्पादन गरेको तीन चक्के मालवाहक गाडी किने । सीता रमेश मल्टी क्याम्पस बुद्धशान्तिको स्नातक तह दोस्रो वर्षमा अध्ययनरत उनले पढाइसँगै कमाइ गर्ने उद्देश्यले सो गाडी खरीद गरेका थिए । तर, उनको सपना अधुरै रह्यो ।
कारण थियो, गाडी किनेको तीन महिना पनि टिकेन । गाडीको इन्जिन, वाइयरिङ लगायतमा समस्या आउन थालेपछि उनी निराश छन् । ‘प्रतिलिटर ३५ किलोमिटर माइलेज दिन्छ भनेर गाडी किनियो, तर छ देखि १० किलोमिटर भन्दाबढी माइलेज दिएन’, उनले भने, ‘गाडी बिग्रिएर उस्तै हैरान ।’
कर्णाली बचत तथा ऋण सहकारी संस्थाबाट ऋण काडेर भट्टराईले छ लाख ४२ हजारमा आरती बुद्ध अटोमोबाइल्स बिर्तामोडबाट गाडी किनेका हुन् । ‘यहीँ केही गरौँ भनेर ऋण काडेर गाडी किने’, उनले भने,, ‘पाँच महिना भयो चलाउन नसकेर शोरुमलाई गाडी जिम्मा लगाको छु ।’
उनी जस्तै बाह्रदशी गाउँपालिका–५ का रसिद आलमले गाडी किनेर एक महिना पनि चलाउन सकेनन् । ‘गाडीले माइलेज नै दिएन, इन्जिनमा समस्या आएर हैरान भइयो’, उनले भने, ‘उपाय नलागेपछि शोरुमलाई गाडी बुझाएँ ।’

बिर्तामोड–३ का आस्मदिन खान र कनकाई–३ का वेदप्रकाश जैन पनि बेला कम्पनीको गाडीबाट पीडित बनेका छन् । ‘जग्गा धितो राखेर गाडी किनेँ’, जैनले भने, ‘गाडी किनेर डुबेँ, भैँसीले खोले खाएजसरी तेल खान थाल्यो । तेल चोर्यो होला भनेर चार वटा ड्राइभर फेरेँ, नसकेर शोरुमलाई गाडी जिम्मा लगाएँ ।’
आरती बुद्ध अटोमोबाइल्सका सञ्चालक टीका ओडारीले गाडीमा समस्या आएको स्वीकार गरेका छन् । आफूले बेचेको बेला कम्पनीको गाडीमा धेरै गुनासो आएपछि सबै गाडी फिर्ता लिएको उनले बताए । ‘मैले चार वटा गाडी बेचेँ, सबैमा समस्या आएपछि फिर्ता पनि लिएँ’, उनले भने, ‘बेचेको गाडीको जिम्मा मैले लिनै पर्छ ।’
गाडीमा समस्या आएपछि कम्पनीका प्रतिनिधि निर्मल पाण्डेले काठमाडौँबाट झापा आएर गाडीबाट पीडित भएका युवासँग सहमति समेत गरेका छन् । प्रहरी कार्यालयमा पीडितहरुले उजुरी गरेपछि पाण्डेले सात दिनभित्र समस्या समाधान गर्ने सहमति गरेर गएका हुन् । तर, सहमतिको म्याद गुज्रिएपछि सम्पर्क गर्दा ‘अदालतमा मुद्दा हाल्नु’ भन्दै जवाफ दिनुका साथै फोन नउठाउने गरेको सञ्चालक ओडारी बताउँछन् ।
‘मैले बेचेको गाडीको दायित्व पूरा गरिसकेँ’, उनले भने, ‘मैले बेचेको चार वटा गाडी जिम्मा बुझेर ग्यारेजमा राखेको छु, बाँकी दुई वटा शोरुममै छ ।’ कम्पनीबाट लिएको चार वटा गाडी र पीडित युवाको बैंकको ब्याजसमेत गरी २६ लाख ८ हजार भुक्तानी गरिसकेकाले उक्त रकम बेला मोटर्सले फिर्ता दिनुपर्ने ओडारीको माग छ ।
आरती बुद्ध अटोमोबाइल्स र बेला मोटर्स बीच २०७६ पुस १९ गते ‘बेला’ ब्राण्डको तीन चक्के मालवाहक गाडी बिक्रीको सम्झौता भएको थियो । गाडीमा समस्या आउन थालेपछि हाल गाडी बिक्री बन्द गरिएको ओडारीले बताए ।
















