१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

धनुषकोटीमा प्रथम बहुउद्देश्यीय सहकारीको साधारणसभा




कनकाई–झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको प्रथम बहुउद्देश्यीय सहकारी संस्थाले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आफ्नो नवौं वार्षिक साधारणसभा झापाको पर्यटकीयस्थल धनुषकोटीमा शनिबार सम्पन्न गरेको छ ।

‘सहकारी : गरिबी निवारणको प्रमुख आधार, प्रथमसँगै समृद्धि’ भन्ने नाराका साथ वनभोजसहित आयोजना गरिएको साधारणसभाको उद्घाटन झापा क्षेत्र नम्वर ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाले गरेका थिए ।

संस्थाको शिक्षा उपसमितिका संयोजक फणिन्द्र दाहालले सञ्चालन र उपाध्यक्ष चेतनाथ उप्रेतीले स्वागत गरेको उद्घाटन समारोहमा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष टीकाराम पाण्डेले विश्वव्यापी महामारी कोभिड–१९ को संकटका बाबजुत आर्थिक वर्ष २०७७÷०७८ मा संस्थाले ३६ लाख ८६ हजार रुपैयाँ मुनाफा गरेको जानकारी दिए ।

प्रतिवेदन अनुसार आ. व. ०७७÷०७८ को असार मसान्तसम्मान संस्थामा ११,७९८ जना शेयर सदस्य पुगेका छन् भने शेयरपूँजी ३ करोड सात लाख ११ हजार आठ सय पुगेको छ । संस्थाको निक्षेप संकलन ३२ करोड ३३ लाख १३ हजार ५८ रुपैयाँ र ऋण लगानी २९ करोड पाँच लाख ८६ हजार रुपैयाँ रहेको र संस्थाका विभिन्न कोषमा एक करोड १० लाख ६५ हजार चार सय एक रुपैयाँ रहेको अध्यक्ष पाण्डेले बताए ।

जिल्लाभरि सातवटा सेवाकेन्द्र रहेको संस्थाले झापाको सुदूर दक्षिणी कचनकवलमा प्रथम पाठशाला नामक सहकारी विद्यालय सञ्चालन गरिरहेको छ भने प्रथम पाठशालालाई झापाभरि विस्तार गर्ने योजना रहेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी, विर्तामोड, बनियानी, घैलाडुब्बा र शिगञ्जमा इलेक्ट्रोनिक्स सामग्रीको पसल सञ्चालन भइरहेको अध्यक्ष पाण्डेले बताए ।

समारोहमा प्रमुख अतिथि साँवाले शुभकामना मन्तव्य राख्दै सहकारी समृद्धिको संवाहक भएकोले उत्पादनसँग जोडिनुपर्ने बताए । कृषि, उद्योग–व्यवसाय क्षेत्रमा सहकारीहरुले लगानी बढाउनुपर्नेमा साँसद साँवाको जोड थियो ।

यसैगरी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले विपन्न परिवारको उत्थानमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए ।
विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालले महामारीका बीच पनि संस्थाले उल्लेख्य नाफा गर्नु महत्वपूर्ण सफलता भएको भन्दै कारोबारको दृष्टिकोणले प्रथम बहुउद्देश्यीय सहकारी अब्बल सहकारीका रुपमा रुपान्तरित हुँदै गएको बताए ।

भद्रपुर नगर बाल सञ्जालकी अध्यक्ष भावना पोखरेल र कचनकवल गाउँ बाल सञ्जालका अध्यक्ष मनिष बरालसमेतले शुभकामना मन्तव्य राखेको सो समारोहमा उत्कृष्ट सदस्य तथा कर्मचारीलाई सम्मान गरिएको थियो । कर्मचारीतर्फ शरणामती सेवा केन्द्रकी कार्यालय प्रमुख गीता प्रसाईंलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार ००:००  ९ : ४३ बजे