१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

बिर्तामोडकाे मनमाेहन हस्पिटलमा फेरि जन्मिए तिम्ल्याहा



बिर्तामोड– झापाको हल्दीबारी-२ की नेत्रमाया पराजुलीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्। बिहीबार साँझ झापाको बिर्तामोडस्थित मनमाेहन अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको हो ।

मनमाेहन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एकराज गौतम नेतृत्वको चिकित्सकीय टोलीले गरेको डेढ घण्टा लामो शल्यक्रियापछि ती शिशु जन्मिएका हुन् ।

तिम्ल्याहा शिशुमध्ये दुई जना छोरा र एक छोरी छन्। पहिलो जन्मिएको बच्चाको तौल २.२ किलाे छ। दोस्रो बच्चाको तौल १.६ र तेस्रो बच्चाको तौल २ किलो रहेको डा. गौतमले जानकारी दिनुभयो ।

सुरुमा पटक पटक बच्चा खेर जाने समस्या देखिएपछि चिन्तित भएका नेत्रमाया र उनका श्रीमान् सन्तोस पराजुली एकवर्ष अघि मनमोहन अस्पतालको सम्पर्कमा आएका थिए ।

‘उहाँहरुले धेरै ठाउँ धेरैपटक चिकित्सकको सल्लाह लिएको थाहा भयो’, डा. गौतमले भन्नु भयो, ‘कतैबाट पनि समाधान नभएपछि उहाँहरू मनमोहन आउनु भएको रहेछ ।’

शल्यक्रियामा संलग्न हस्पिटलको चिकित्सकीय टोली ।

बच्चा खेर जाने समस्यापछि बच्चा नबस्ने अर्को समस्या थपिँदा दम्पति झन् चिन्तित भएका थिए । डाक्टर गौतमले पाठेघरको जाँचपछि नेत्रमायाकाे औषधि उपचार सुरु गर्नुभएको थियो।

निरन्तरको जाँच र चिकित्सकीय निगरानीपछि ३५ सातामा शल्यक्रिया गरी बच्चा निकालिएको हो । डाक्टर गौतमका अनुसार तीनै जना बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।

यद्यपि, उनीहरुलाई चिकित्सकीय निगरानीमा अस्पतालमै राखिएको छ । यसअघि डेढ वर्षअघि पनि मनमोहन अस्पतालमा तिम्ल्याहा बच्चाको जन्म भएको थियो ।

झापाको धुलाबारीकी निर्मला रिजालले एकैपटक दुई छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । ती ती तिम्ल्याहा हुर्कदै गएका छन्।

२०७७ असोज ४ गते २५ वर्षीया निर्मलाले बिर्तामोडको मनमोहन अस्पतालमा साइमनजङ्ग, साइना र सियोनजङ्ग रिजाललाई जन्म दिएकी थिइन्। साइना र साइमनको तौल २ किलो थियो भने सियोनजंग १ किलो ६ सय ग्रामका थिए।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार ००:००  ७ : ३२ बजे