१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

धनुषकोटि धाममा बिर्तामोडका माेबाइल व्यवसायीकाे बनभाेज



बिर्तामोड– माेबाइल एशाेसिएसन बिर्तामोडले साेमबार झापाको पर्यटकीयस्थल धनुषकाेटी धाममा बनभोज कार्यक्रम आयोजना गरेको छ । एशाेसिएसनमा आवद्ध व्यवसायीहरुलाई मनोरञ्जन प्रदान गर्नेगरी विभिन्न प्रतियोगितासहित बनभोज कार्यक्रम आयोजना भएको हाे।

वनभोज अघि आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरुले संस्थालाई गतिशील र प्रभावकारी बनाउन सबै मोबाइल व्यवसायीहरुलाई समेटेर लैजाने बताएका थिए । व्यवसायिक हित तथा प्रवर्द्धनका लागि संस्थाले कोष स्थापना गरेको माेबाइल एशाेसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाले बताउनुभयो ।

कोषका लागि आवद्ध व्यवसायीहरूले प्रत्येक महिना योगदान गर्दै आएका छन् । प्रमुख अतिथिका रूपमा कार्यक्रमको उद्घाटन गर्दै शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्याैपानेले मोबाइल व्यवसायीहरुसँग सहकार्य गर्न संस्था तयार रहेको बताउनुभयो ।

‘व्यवसायीहरूको वित्तीय आवश्यकता पूरा गर्दै आपसी सहकार्य गर्न सहकारी संस्था तयार छ’, कार्यक्रममा अध्यक्ष न्यौपानेले भन्नुभयो । माेबाइल एशाेसिएसन बिर्तामोडका संस्थापक अध्यक्ष टीका मैनालीले बिस्तारै जिल्लाव्यापी रुपमा माेबाइल व्यवसायीहरूको नेटवर्क विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा माेबाइल एशाेसिएसन बिर्तामोडका सहसचिव सञ्जय साह, सदस्य सुप्रित खनाल लगायतले बोल्नुभएको थियो । वनभोजका क्रममा आयोजित विभिन्न प्रतियोगितामा व्यवसायीले पुरस्कार जितेका छन् ।

सर्वोत्कृष्ट आकर्षणको केन्द्र बनेको घैला फुटाउने कार्यक्रममा व्यवसायी राजन घिमिरे प्रथम हुनुभएको छ । विजेता घिमिरेलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले नगद दुई हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभयो । त्यसैगरी म्युजिकल चियरतर्फ निकेश कटुवाल प्रथम हुनुभएको छ । उहाँले पाँच सय रुपैयाँ पुरस्कार जित्नु भयाे ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार ००:००  १२ : ५४ बजे