४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मातृ भाग्यरेखा सहकारीको साधारण सभा : सेवा केन्द्र विस्तारको तयारी



बिर्तामोड– मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई थप सेवा सुबिधा उपलब्ध गराउन न्यूनतम् शेयरको सीमा निर्धारण गरेको छ ।

वित्तीय कारोबारसँगै थप सेवा सुविधा लिन चाहने सदस्यका लागि संस्थाले न्यूनतम् ५० हजार रुपैयाँको शेयर सीमा निर्धारण गरेको हो ।

संस्थाका सदस्यले अधिकतम् दुई लाख रुपैयाँसम्म शेयर हाल्न पाउने गरी नीति बनाइएको मातृ भाग्यरेखा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टङ्कप्रसाद दवाडीले बताउनुभयो ।

संस्थाका अध्यक्ष टङ्कप्रसाद दवाडी ।

सदस्यहरुलाई चालू आर्थिक वर्षदेखि उपचार सेवा उपलब्ध गराउने संस्थाको नीति छ । दसौं वार्षिक साधारणसभामा प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष दवाडीले संस्थाको कार्यक्षेत्रभित्र सेवा केन्द्र विस्तारको नीतिलाई चालु आर्थिक वर्षमा अगाडि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

साधारणसभाको उद्घाटन समारोहका अतिथिहरु

२७ सय सदस्य भएको संस्थामा दुई करोड ३० लाख रुपैयाँ शेयर पूँजी रहेको छ । चालु आर्थिक वर्षमा शेयर पूँजी वृद्धि अभियान सञ्चालन गरिने संस्थाकी सचिव नैनकला दाहालले बताउनुभयो ।

संस्थापक अध्यक्ष दाहाललाई सम्मान

सहकारी संस्थाले संस्थापक अध्यक्ष खड्गप्रसाद दाहाललाई बढाएर दोसल्ला ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र झापा जिल्ला वचत सहकारी सङ्घका अध्यक्ष तुलाराम न्याैपानेले संस्थापक अध्यक्ष दाहाललाई सम्मान गर्नु भएको हो ।

संस्थापक अध्यक्ष खड्गप्रसाद दाहाललाई सम्मान गरिँदै ।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता तथा ऋणी शेयर सदस्य र कार्यसम्पादनमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत पनि गरेको छ ।

उत्कृष्ट कर्मचारीलाई सम्मान गर्दै कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथि।

मातृ भाग्यरेखाकाे साधारणसभामा कसले के भने ?

संस्थाका प्रमुख सल्लाहकार कुलप्रसाद खरेलले सहकारीमा सदस्यहरूको आकर्षण बढेको बताउँदै थप सेवा सुविधा विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

साधारणसभाको उद्घाटन समारोहमा बोल्दै शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्याैपानेले सहकारी क्षेत्रमा बढ्दै गएको तरलता संकट व्यवस्थापनका लागि जिल्ला संघ र बचत संघले साझा रणनीति बनाएर सदस्य संस्थाहरुलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

साधारणसभामा सहभागी शेयर सदस्य।

कार्यक्रमका विशेष अतिथि जिल्ला बचत संघका अध्यक्ष तुलाराम न्याैपानेले सदस्य संस्थाहरुलाई नीति, विधि र प्रविधिमा परिपक्व बनाउन संस्थाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने बताउनुभयो । सहकारी संस्थाहरुलाई स्तरीकरण गर्दै उनीहरूको अभियानलाई सेवामुखी क्षेत्रसम्म पुर्याउने कार्यमा संघले सहयोग गर्ने अध्यक्ष न्यौपानेले बताउनुभयो ।

सहकारी संस्था उत्पादनसँग जोडिन नसक्दा तरलता व्यवस्थापनमा चुनौती थपिएको सङ्घका अध्यक्ष न्यौपानेको तर्क छ ।कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले सहकारी संस्थाहरु बीच एकीकरण प्रक्रियाको सघन प्रयास जरुरी भएको बताउनुभयो । सानो पूँजीका सहकारी संस्थाहरु एकीकरण प्रक्रियामा सहभागी नभई नहुने भन्दै अध्यक्ष ढकालले आपसी छलफल अगाडि बढाउन आग्रह पनि गर्नुभयो ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार ००:००  ८ : ४१ बजे