२२ माघ २०७९, आइतबार | Sun Feb 5 2023

दुर्गापुरमा दुर्घटना : पिकनिक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु



बिर्तामोड– पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका वडानम्बर ७ दुर्गापुरमा पिकनिक गएर गन्तब्यतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

इलामको कन्यामबाट इटहरीतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बसले ठक्कर दिँदा बुधबार राति ८ बजे इलाम रोङ गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ में ७ प २८४६ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । तीव्र गतिको बसले आफ्नै साइडमा रहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको घटनाका प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।

प्रहरीले बस चालक इलाम चुलाचुली गाउँपालिका वडा नम्बर २ बस्ने सरोज ढकाललाई नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

धनगढी काँकडभिट्टा रुटमा चल्ने सो बस पिकनिकका लागि यात्रु लिएर इलामको कन्याम गएको ट्राफिक प्रहरी पोष्ट सुरुङ्गाका प्रमुख प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले बताए । गन्तव्यतर्फ फर्कने क्रममा दुर्गापुरमा दुर्घटना भएको उनले बताएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार ००:००  १० : ३१ बजे