१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी



लक्ष्मी काफ्ले– राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा प्रखर राष्ट्रबादी नेता राजेन्द्र लिङदेन विजयी भएका छन् । नेता कमल थापालाई हराउँदै लिङदेन अध्यक्षमा विजयी भएका हुन् ।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १६७ मतले हराउँदै लिङ्देन विजयी भएकाे जनाइएको छ ।

पार्टीको चार दिनदेखि राजधानीमा जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो ।

मतगणनाको भर्खरै प्राप्त नतिजा अनुसार लिङदेनले थापालाई १ सय ६७ मत अन्तरले हराउँदै पार्टीको अध्यक्ष जितेका हुन्।

को हुन् राजेन्द्र लिङ्देन ?

२०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका राजेन्द्र लिङ्देनले २०३६ सालमा विद्यार्थी जीवनबाट राजनीति सुरुवात गरेका हुन् । विद्यार्थी राजनीतिसँगै पढाइलाई निरन्तरता दिएका लिङ्देनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

पिता मानप्रसाद र माता मनकुमारीका सुपुत्र लिङ्देन राप्रपाको स्थापनाकालदेखि नै सदस्य बने । २०४८ सालमा राप्रपाको विद्यार्थी संगठन बन्दा उनी संस्थापक केन्द्रीय अध्यक्ष बने ।

जनताका बीचमा रमाउन चाहने यी विकासप्रेमी नेता स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष पनि भएका छन् । राजनीतिमा अनेकौँ दुःख र कष्ट भोगेका लिङ्देन वि.सं. ०६०/०६१ मा जिविस झापाको सभापतिसमेत बने ।

जिविस सभापति हुँदा दक्षिणी झापाको विकासमा उनले अतुलनीय योगदान पुर्‍याएका थिए । त्यतिबेला उनी सभापति छँदा गरेका विकास निर्माणका कामहरु दक्षिणी झापाका बासिन्दाले अझै पनि चर्चा गर्छन् ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय बेहोरे पनि लिङ्देनले जनताको सेवा गर्न कहिल्यै छाडेनन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै उनी झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भए ।

लिङ्देनले सिटौलालाई १३ हजार ४ सय ४३ मतान्तरले पराजित गरेका थिए । देशप्रेमी, विकासप्रेमी, भ्रष्टाचारविरोधी नेता लिङ्देन युवा पुस्तामा पनि सर्वाधिक प्रिय छन् ।

पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उनले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताए । दक्षिणी झापामा हरेक वर्ष भारी वर्षासँगै बाढी आउँछ । बाढीसँगसँगै लिङ्देन पनि पुग्थे, राहत तथा उद्धारमा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, संगठन विभाग प्रमुख लगायत जिम्मेवारी सम्हालिसकेका लिङ्देनले एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार ००:००  ७ : १८ बजे