- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
झापा– शिक्षण अभ्यासमा प्रविधिको प्रयोग बढ्दै गएपछि झापाको देहातका सरकारी विद्यालयमा बिद्यार्थीको संख्या बढ्दै गएको छ । प्रविधिप्रतिको चासोले सरकारी विद्यालयमा बिद्यार्थी संख्या थपिने क्रम बढेको हो ।
झापाका विभिन्न सामुदायिक विद्यालयमा प्रविधिमा आधारित शिक्षण अभ्यास भइरहेको छ । घेरावारीस्थित बुद्ध मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुशीलाल राजवंशी भन्छन्, ‘अनिवार्यरुपमा कम्प्युटर कक्षा पढाई हुन थालेपछि ठूलो मेहनतले बिद्यार्थी थपिएका छन् ।’
दुई वर्षमा मात्रै बुद्ध माविमा ९० जना विद्यार्थी थपिएको प्रधानाध्यापक शिवनारायण राजवंशीले बताए । बुद्ध माविमा सबै आदिवासी समुदायका विद्यार्थी पढ्छन् । पहाडे मूलको एउटा विद्यार्थी पनि यहाँ छैन् । यो विद्यालयले दुई वर्षअघिसम्म विद्यार्थीको अभाव झेल्नुपर्ने अवस्था थियो ।

‘घट्दो विद्यार्थी संख्याका कारण विद्यालय व्यवस्थापन समिति र शिक्षक तनावमा थियौँ’, प्रअ राजवंशीले भने, ‘अहिले शिक्षण अभ्यासमा प्रविधिको प्रयोग हुन थालेपछि निजी विद्यालय छोडेर आउने विद्यार्थी बढ्दै गएका छन् ।’
झापाको भद्रपुर नगरपालिकासहित हल्दिबारी, कचनकबल र बाह्रदशी गाउँपालिकाका सामुदायिक विद्यालयमा स्मार्ट बोर्डमार्फत पढाई भइरहेको छ । ती विद्यालयमा अनिवार्यरुपमा कम्प्युटर कक्षा पनि सञ्चालन हुन्छ ।
महंगो शुल्क तिरेर निजी विद्यालयमा पढ्न नसक्ने बिद्यार्थीलाई यसले बढी फाइदा पुग्ने प्रधानाध्यापक राजवंशीले बताए । विद्यालय शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउन स्मार्ट बोर्डको प्रयोग थालिएको छ ।
झापा क्षेत्र नम्वर ३ अन्तरगतका १२ वटा सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड र प्रोजेक्टरको प्रयोगमार्फत पढाई भइरहेको छ । सरकारी विद्यालयको शैक्षिक गुणस्तर बढाउन प्रविधिले सहयोग गर्ने बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी बताउँछन् ।
सरकारी विद्यालयमा प्रविधिमा आधारित शिक्षण अभ्यासले सिकाई प्रक्रियालाई सरल बनाएको सरोकारवालाको अनुभव छ । यसलाई सबै सामुदायिक विद्यालयमा बिस्तार गर्दै लैजानु पर्ने देखिएको छ ।