१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

कारागारको गेट नखुल्दा झगडालु कैदीबन्दी चिसोमा रात बिताउन बाध्य



झापा– मोरङ कारागारमा भएको झडपपछि झापा कारागार स्थानान्तरण गरिएका नौ जना कैदीबन्दी रातभर गाडीमा बस्न बाध्य भएका छन् । कारागारको आन्तरिक प्रशासनले उनीहरुलाई राख्न अस्वीकार गरेपछि मोरङबाट झापा ल्याइएका कैदीबन्दीको बास गाडीमै भएको हो ।

मोरङबाट ल्याइएका कैदीबन्दीलाई राख्दा झापा कारागारभित्र थप तनाव हुने भन्दै आन्तरिक प्रशासनले फिर्ता लैजानुपर्ने अडान राखेको थियो । झापा कारागारका कैदीबन्दीले गेट खोल्न समेत अस्वीकार गरेपछि उनीहरु रातभर बाहिरै बस्नुपर्ने अवस्था आएको झापा कारागारकी निमित्त जेलर हिमा पौडेलले बताइन् ।

‘गएराति आठबजे नौ जनालाई झापा कारागार ल्याइएको थियो, तर कैदीबन्दीले गेट खोल्न नमानेपछि विवाद भयो’, निमित्त जेलर पौडेलले भनिन्, ‘अहिले बिहान विवाद समाधान भएको छ ।’ आन्तरिक प्रशासनसँगको सहमतिपछि मोरङबाट स्थानान्तरण गरिएकामध्ये चार जनालाई झापा कारागारमा राखिएको छ ।

बाँकी पाँच जनालाई इलाम कारागार लगिएको छ । रामबहादुर लिम्वू, डिल्ली देवान कपिलकुमार साह र बबिहाङ राईलाई झापा कारागारमा राखिएको निमित्त प्रमुख पौडेलले जानकारी दिइन् । कैदीबन्दीको अहिलेको संख्या थेगिनसक्नु भइरहेका बेला थप कैदीबन्दी ल्याउँदा समस्या हुने कारागार प्रशासनले जनाउँदै आएको छ । झापा कारागारमा १२८० कैदीबन्दी छन् ।

विराटनगरको हाटखोलास्थित कारागार मोरङमा दोहोरो झडप भएपछि चौकीदार किरण गुरुङसहित १४ जनालाई मोरङबाट सुनसरीको झुम्का र झापा कारागार स्थानान्तरण गरिएकोमा पाँच जनालाई इलाम पठाइएको हो । इलाम कारागारका प्रमुख प्रदीप श्रेष्ठले पाँच जना कैदीबन्दी झापाबाट ल्याइँदै गरेको सूचना आएको बताए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार ००:००  ९ : ५२ बजे