१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

प्रदेश सरकारको सत्ता समीकरण : राजेन्द्र भए मुख्यमन्त्री, आङ्वोको रिइन्ट्री




विराटनगर– प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश १ सरकारका मुख्यमन्त्री राईलाई प्रदेश प्रमुख प्यासीले सपथ ग्रहण गराएका छन् । मंगलबार बिहान मुख्यमन्त्रीमा नियुक्त भएका राईले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्को गठन र कार्यविभाजन प्रदेश प्रमुखलाई बुझाएका थिए ।

पाँच दलीय गठबन्धनबाट बनेको ६ सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्री राईले उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी आफैं राखेका छन् । बाँकी मन्त्रालयहरुमध्ये नेपाली कांग्रेस भौतिक पूर्वाधार विकास मन्त्रालयको नेतृत्व गर्दै सरकारमा सहभागी भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की नियुक्त भएका छन् । त्यसैगरी कांग्रेसकै प्रमुख सचेतक रहेका केदार कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्रालयमा ‘रि–इन्ट्री’ भएका छन् । उनी यसअघि नेकपाको दुई तिहाई बहुमतको सरकारमा रहँदा तीन वर्ष सोही मन्त्रालयको मन्त्री थिए ।

उनलाई नेकपा विभाजनपछि तत्कालीन मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वास प्रस्तावको योजना बनाउन भूमिका खेलेको भन्दै मन्त्री पदबाट बर्खास्त गरेका थिए ।

गठबन्धनकै अर्को दल जनता समाजवादीका नेता जयराम यादवले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी लिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा इच्छा व्यक्त गरे पनि गठबन्धन भित्रको शक्ति समिकरणका कारण यादव सामाजिक विकासमन्त्री बनेका हुन् ।

सामाजिक विकास मन्त्रालयको राज्यमन्त्रीमा गठबन्धनको सबैभन्दा सानो दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता तथा एक्ली सांसद विष्णु तुम्बाहाम्फेलाई मुख्यमन्त्री राईले चयन गरेका छन् ।

सोमबार मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि विपक्षी गठबन्धनमा रहेका पाँच दलले बहुमतको दाबीसहित राजेन्द्रकुमार राईलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए । मुख्यमन्त्रीमा राई प्रस्ताव गरिए पनि दलहरुभित्र मन्त्रीको नाम टुंग्याउन सकस परेको थिथो ।

मंगलबार मुख्यमन्त्रीसहित प्रत्येक दलबाट एकजना मात्रै मन्त्री बन्ने गरी छलफल अघि बढाइएको थियो । छलफलमा राज्यमन्त्रीसमेत अर्को पटकको मन्त्रिमण्डल विस्तारमा नियुक्त गर्ने सहमति बनेको थियो । तर गठबन्धनको ठूलो दल नेपाली कांग्रेस भित्रको देउवा समूह र शेखर कोइराला समूहका कारण सहमति हुन समय लागेको थियो ।

प्रदेश प्रमुख प्यासीले मंगलबार दिउँसो २ बजेका लागि सपथ ग्रहणको समय दिएका थिए । तर दलहरुभित्र मन्त्री छनौटमा विवाद हुँदा साढे ३ बजेमात्रै मुख्यमन्त्री र मन्त्रीहरुको सपथ गराइएको थियो।

सपथ ग्रहण लगत्तै मुख्यमन्त्री राईसहित चार मन्त्री र एक राज्यमन्त्रीले मंगलबार नै आफ्नो मन्त्रालयमा पुगेर पद बहाली समेत गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार ००:००  ८ : ४८ बजे