- भर्खरै : पेट्रोलियम पदार्थको मूल्य घट्यो
- भर्खरै : झापाको सतासीधाममा दुर्घटना हुँदा एक जनाको मृत्यु
- बुढासुब्बा चोकमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
- पथरी शनिश्चरेमा दुर्घटना हुँदा युवकको मृत्यु
- इखरीपाटीको शुभारम्भ
परिवारको पहिलो डाक्टर हुन् डा.सन्दीपचन्द्र श्रेष्ठ । पूर्णटुङ्ग बिर्तासिटी हस्पिटल विर्तामोडमा कोभिड इन्चार्जको जिम्मेवारीमा रहेका उनी कन्सल्टेन्ट फिजिसियन हुन् । उनले फिलिपिन्सबाट एमडी अध्ययन पूरा गरेका छन् । अहिलेसम्म उनले ५००० कोभिडका विरामीको आफैंले उपचार गरिसकेका छन् ।
जुनबेला कोरोनाको उपचार कसरी गर्ने र स्वास्थ्य सुरक्षाका सामग्री कहाँबाट जुटाउने भन्ने चिन्ता थियो, त्यसबेला नै बिर्तासिटीले कोभिडको उपचारमा होमिने निधो गरिसकेको थियो । यसको नेतृत्व लिएका थिए ३७ वर्षीय डा. सन्दीपले ।
बिहान उठेदेखि राति नसुतेसम्म उनी पिपिइ, मास्क र सेनिटाइजरमा कोभिडका विरामीकै सेवामा तल्लीन रहने गरेका छन् । यतिसम्म कि काठमाडौँको सिभिल हस्पिटलमा बुवा र ममीलाई कोभिडको उपचारका लागि भर्ना गरिएको खबर आएको थियो । त्यहीबेला आफू कार्यरत हस्पिटलमा पालो दिने डाक्टर थिएनन् । अरु बिदामा थिए । सत्तरी जना भन्दाबढी विरामी बेडमा भर्ना थिए । आइसियु र भेन्टिलेटरमा रहेका अति सिकिस्त विरामीहरु उनीबाटै उपचार पाएर बाँच्ने आशा पालिरहेका थिए ।
एकातिर बुवाममीको मायाले आँखा रसाउँथ्यो । अर्कातिर मलाई बचाइदिनुहोस् भन्दै पुकार गर्ने आफ्ना विरामीहरु देख्दा पनि मन रुन्थ्यो । धर्मसङ्कटको यो घडीमा डा. सन्दीपले बिर्तासिटीमै विरामीलाई समय दिने निर्णय लिए ।
मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचे कोभिडको उपचारका लागि आउँदा डा. सन्दीपले गरेको स्याहार देखेर उनले आफनो छोरालाई ‘यो डाक्टर विरामीहरुलाई आफ्नै घरको मान्छे जस्तो ठानेर उपचार गर्नु हँदोरहेछ । आफ्नो ख्याल पनि गर्न भन्दिनु’ भनेछन् । वडाध्यक्षको मृत्युपछि उनका छोराले यो सन्देश सुनाएका थिए ।
कोभिडका विरामीलाई ५२ दिनसम्म अथक उपचार गर्दा समेत बचाउन नसक्दा उनलाई सबैभन्दा बढी दुःख लागेको छ । निको भएर गएकाहरुले अहिले पनि सम्झिदै फोन गर्छन् उनलाई । अरुको उपचार गर्दागर्दै उनी आफू पनि कोभिडको सङ्क्रमणमा परे । छोराहरुलाई काठमाडौँ पठाएर उनी बिर्तासिटीको आइसियुमा भर्ना भएका थिए ।
थुप्रै जनाले काठमाडौँ जानु भनेर सुझाव दिँदा पनि उनी मानेनन् । ‘विर्तासिटीलाई विश्वास गरेर विरामीहरु यहाँ आउँछन् अनि म चाहिँ उपचार गराउन काठमाडौं गएँ भने मैले नै अविश्वास गरेको ठहरिन्छ भनेर गइनँ’ उनले सुनाए ।
सङ्क्रमणले गर्दा उनी गम्भीर अवस्थामा पुगेका थिए । त्यसबेला खोप आइसकेको थिएन । ‘अब बाँच्छु होला जस्तो लाग्दैन,’ उनले पत्नी लतालाई आँखाबाट आँसु खसाउँदै भनेको कुरा सुनाए–‘हेर लता, मलाई गाह्रो हुँदै गएको छ । जे पनि हुन सक्छ । मलाई भेन्टिलेटरमा धेरै समय नराख्नु । परिवार सम्हाल्नु ।’
पेसाप्रतिको निष्ठा र आफ्नो कर्तव्य नै भएकाले स्वास्थ्यकर्मीहरु पटक–पटक जोखिममा पर्नु स्वाभाविक भएको बताउँछन् । पैसालाई कहिल्यै महत्व नदिने उनी डाक्टरका लागि आफ्नो परिवार र अरुको परिवार समान हुने बताउँछन् । । मानिस पैसाले अजम्बरी हुँदैन भन्ने
ठूलो शिक्षा कोरोना महाव्याधिले दिएको बताउँछन् उनी ।
कोभिड–१९ विरुद्ध युद्ध मैदानमा अग्रपङ्तिमा रहेर मानव समुदायको रक्षा गर्न जीवनलाई समेत दाउमा राख्ने डा.सन्दीपको पेसाप्रतिको उच्च समर्पणलाई सलाम । (लोकतन्त्र पोस्ट दशैँ म्यागेजिनबाट)