१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

प्रणामी समुदायले चारपानेमा मनाए अहिंसा दिवस




बिर्तामोड– श्री कृष्ण प्रणामी युवा परिषद नेपाल प्रदेश नम्बर १ जिल्ला कार्य समिति झापा र चारपाने प्रारम्भिक समितिले विश्व अहिंसा दिवस मनाएका छन् ।

जिल्ला परिषदको समन्वय तथा चारपाने प्रारम्भिक समितिको आयोजनामा शुक्रबार विश्व अहिंसा दिवसको अवसरमा चारपानेमा कोणसभा तथा दीप प्रज्वलन गरिएको हो ।

विश्वमै अहिंसाका लागि उदाहरणको रुपमा मानिएका भारतका महात्मा गान्धीको जन्मदिन अक्टोबर २ तारिखमा विश्व अहिंसा दिवस मनाउने गरिन्छ । सो अवसरमा परिषद् झापाका अध्यक्ष टहलदास ओलीले दिगो शान्तिविना समाज र मुलुकले विकास र समृद्धि हासिल गर्न नसक्ने भएकाले हिंसालाई निर्मूल गर्नेतर्फ विश्वभरकै सरकार र राजनीतिक दलहरुको ध्यान जानुपर्ने बताए ।

उनले निर्दोष प्राणीहरुको हत्या बन्द गरी समाजमा प्रेमको भावनालाई उजागर गर्न सक्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा परिषदका केन्द्रिय सदस्य दीपक दिनेश दाहाल चारपाने समितिका अध्यक्ष बासु पाण्डेले हिंसारहित समाज निर्माणमा प्रेरित गर्दै अहिंसा र प्रेममय विचारतर्फ उत्प्रेरित गर्ने अभियान देशव्यापी चलाउन जरुरी रहेको बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य मदन अधिकारी, जिल्ला उपाध्यक्ष समर्पण खतिवडा, बिर्तामोड प्रारम्भिक समितिका अध्यक्ष दिनोज बजगाई लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार ००:००  ८ : ४८ बजे