झापा–नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता सञ्चालनमा ‘परिस्थितिजन्य राजनीतिक बहिर्गमनको सीमा’ निर्धारण प्रस्ताव अघि सारेका छन् । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा महामन्त्रीमा उमेद्वारी घोषणा गरेका शर्माले एउटै व्यक्ति पटक–पटक राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद बन्न पाउने विद्यमान व्यवस्थामा फेरवदलको प्रस्ताव अघि सारेका हुन् ।
‘राजनीतिक अस्थिरताका कारण कार्यकाल पूरा नभई एकै वर्षमा पद गएपनि जाओस्, त्यही नै सही । एकपटक सपथ गरेको मान्छे जतिसुकै योग्य, सक्षम र विद्धान भए पनि राष्ट्रपतिमा दोहोरिनु हुँदैन’, प्रवक्ता शर्माले आइतवार गृह जिल्ला झापामा आयोजित कार्यकर्ता भेलामा अवधारणापत्र प्रस्तुत गर्दै भने, ‘प्रधानमन्त्रीमा पनि दुई पटक भन्दाबढी नेतृत्व गर्न नपाइने व्यवस्था भएमात्रै राजनीतिमा युवा पुस्ताको सहभागिता बढ्न सक्छ ।’
प्रवक्ता शर्माले शासकीय प्रणालीको बहसलाई ‘शासन संस्कार पद्धति’ तर्फ मोड्नु पर्ने बताउँदै एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चारपटक सांसदको सपथ लिएपछि फेरि राजनीतिमा घुमिफिरी गर्न नपाइने व्यवस्थाको खाँचो रहेको बताए ।
- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
‘शासकीय पदमा आगमन र बहिर्गमनको भिन्न प्रणाली स्थापित भए कोही राजनीतिज्ञलाई उमेर हद लगाइरहनु पर्दैन’, प्रवक्ता शर्माले भने, ‘बा छोड्दिनुस् भन्ने अवस्था अन्त्यका लागि पनि यो व्यवस्था आवश्यक छ ।’
लोकतान्त्रिक संस्थाहरुको संस्थागत शक्तिको विकासले राजनीतिप्रति भरोसा जागृत हुने जनाउँदै प्रवक्ता शर्माले राजनीतिमा युवा पुस्ताको सक्रिय र हस्तक्षेपकारी भूमिकाको खाँचो रहेको बताए । चुनावी प्रचार अभियानमा निस्किएका शर्माले हरेक तहको राजनीतिक नेतृत्व आर्थिक रुपले आत्मनिर्भर र प्रेरणादायी बन्नुपर्ने औँल्याए ।
‘जीवन सुव्यवस्थापनको साधन जुटाउने सवालमा इमानको बाटो र आत्मनिर्भरताको लक्ष्य जरुरी छ’, प्रवत्ता शर्माले भने, ‘नेता कार्यकर्ताले तीन दिन पार्टीका लागि चार दिन रोटीका लागि खटिनु पर्छ । अनि मात्रै सवल र सक्षम हुन सकिन्छ ।’ उनले हरेक कार्यकर्ता उत्पादनमूलक काममा जोडिनु पर्ने बताए ।
















