झापा–आर्थिक अभावमा उपचार गराउन नसकेपछि मृत्युसँग संघर्ष गरिरहेका अर्जुनधारा–६ लक्ष्मीपुरका २८ वर्षीय युवा गोपी बस्नेतको उपचार बिर्तामोडको विर्तासिटी अस्पतालले गरिदिने भएको छ । सञ्चारमाध्ययमा समाचार आएपछि अस्पतालले गोपीको उपचारमा चासो देखाएको हो ।
उपचार अभावमा जिउँदो मान्छे कुहिएर बाँचिरहेको समाचार सञ्चारमाध्यममा प्रकाशित भएको थियो । समाचार देखेर बिर्तासिटीले उपचारमा चासो राखेको हो । मंगलवार गोपीलाई अस्पताल प्रशासनले उपचारका लागि भर्ना गरेको छ ।

२८ वर्षीय गोपीको शरीरका विभिन्न भाग कुहिन थालेका छन् । गोपीको उपचारमा डाक्टर त्रय विजय केसी, नारायण ताजपुरीया र सञ्जिव चौधरीको टोली खटिएको छ । चिकित्सकका अनुसार गोपीको दुर्बलता के कारणले भयो भन्नेबारेमा सम्पूर्ण मेडिकल जाँच गरिनेछ ।
गोपी यातायात मजदुर हुन् । उनी सार्वजनिक यातायातको यात्रुबाहक बसमा सहचालकको रुपमा काम गर्थे । घरको आर्थिक अवस्था उनको आम्दानीले थाम्न नसकेपछि बुवाको सल्लाहमा उनी डेढ वर्ष अघि भारतको बेङ्लोरमा रोजगारीका लागि गएका थिए ।