
रेडियम व्याण्डका गायक तथा गितारिस्ट राजु चौधरीको निधन
बिर्तामोड– स्थानीय रेडियम व्याण्डका गायक तथा गितारिस्ट राजु चौधरीको निधन भएको छ । झापा बिर्तामोड निवासी चौधरी ए प्लास्टिक एनिमियाबाट पीडित थिए । उनी करिब २ महिनादेखि उपचारका क्रममा थिए । उनको आज बिहान ११ बजे भारतको दिल्लीमा निधन भएको फर राजु चौधरी अभियानका सदस्य विशाल अग्रवालले जानकारी दिए ।
बिरामी भएपछि बिर्तामोडको बिएन्डसी, विराटनगर, काँठमाडौँहुँदै पछिल्लोपटक भारतको दिल्लीमा उपचार भइरहेको थियो । तर, हिजो बेलुका अचानक उनको रगतमा अति संक्रमण भएपछि भेन्टिलेटरमा राखिएको थियो । तर, उपचार जारी राखे पनि उनलाई बचाउन नसकिएको चिकित्सकलाई उदृत गर्दै उनले बताए ।
राजुलाई बचाउनका लागि स्थानीय एलाइट युथ क्लब बटारेसहित विभिन्न संघसंस्थाले अभियान नै सञ्चालन गरेर आर्थिक सहयोग जुटाइरहेका थिए । हिजोमात्र क्लब र अष्ट्रेलियामा संकलित २ लाख २९ हजार राजुको बै०क खातामा जम्मा गरिएको थियो ।
यस्तै स्याडोज व्याण्डका स्वप्निल शर्मा र अनुप्रस्थका निरन शाहीले पनि विभिन्न स्थानमा पुगेर राजुका लागि आर्थिक सहयोग जुटाउँदै आइरहेका थिए । उनको निधनसँगै बिर्तामोडका युवा समुदाय, कलाकारिता क्षेत्रमा लागेका युवा र उनका प्रशंसक स्तब्ध बनेका छन् ।