प्रतिदिन दैनिक १५ औँ वर्षमा

झापामा कांग्रेस वडा अधिवेशनको तयारी पूरा

बिर्तामोड– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनको तयारी पूरा भएको छ । झापाका सवै वडामा निर्वाचनका लागि आवश्यक सामग्री पुर्याइएको छ भने मतदान केन्द्र तोकिएको छ ।

वडा–वडामा पुगेका मतदान अधिकृत, सहायक मतदान अधिकृत र नेपाली कांग्रेस वडा कार्यसमितिको संयुक्त बैठकले सबैलाई पायक पर्ने गरी वडा समितिको कार्यालय, सार्वजनिक÷सामुदायिक भवन, विद्यालय, मठमन्दिर लगायतका स्थानमा मतदान केन्द्र तय गरेको हो ।

कोभिड संक्रमणका बाबजुद स्वास्थ्य सुरक्षा अपनाउँदै गर्न लागिएको अधिवेशनमा माक्स, सेनिटाइजर, सामाजिक दुरी कायम लगायतका मापदण्ड अपनाउन नेपाली कांग्रेस झापा सभापति उद्वव थापाले सबैमा आग्रह गर्नुभएको छ ।

विभिन्न वडामा आज नै वार्डभेला समेत सम्पन्न भएको छ । वार्डभेलामार्फत आकांक्षीहरुले वडा कार्य समिति एवं क्षेत्रीय प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका छन् । थुप्रै वडाहरुमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको बुझिएको छ ।

कांग्रेस क्रियाशील सदस्य संख्याको आधारमा झापामा न्युनतम १५ देखि अधिकतम ७९ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । क्षेत्रीय प्रतिनिधिले गाउँ–नगर, प्रदेश क्षेत्र, क्षेत्र र जिल्लामा मतदान गर्न पाउनेछन् । झापामा यसअघि १६ हजार ३४५ क्रियाशील सदस्य रहेकोमा यसबर्ष १७ हजार १ सय १२ जनाले क्रियाशील सदस्यता पाएका छन् ।

झापाका १५ वटा पालिकाका १३१ वटा वडामा भदौ १९ गते एकसाथ अधिवेशन हुँदैछ । नेपाली कांग्रेस झापा र जिल्ला निर्वाचन समितिको यसअघि सम्पन्न संयुक्त बैठकले सबै वडाका लागि एउटै निर्वाचन कार्यतालिका तय गरेको छ ।

जसअन्तरगत भदौ १९ गते ११ बजे मतदाता नामावली प्रकाशन, १२ बजेदेखि २ बजेसम्म उम्मेद्वारी दर्ता, २ बजेदेखि २ः३० सम्म उम्मेद्वारमाथि दावी–विरोध, २ः३० देखि ५ बजेसम्म उम्मेद्वारी फिर्ता र ५ः३० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका तय गरिएको झापाका लागि निर्वाचन अधिकृत सुवोधबाबु चिलवालले जानकारी दिनुभयो ।

सर्वसम्मत भएका वडाहरुमा १९ गते नै मतदान प्रक्रिया सम्पन्न हुनेछ भने सर्वसम्मत नभएका वडाहरुमा भदौ २० गते ९ बजेदेखि १ बजेसम्म मतदानको समय तय गरिएको छ । मतदान सकिएलगत्तै मतगणना र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन कार्यतालिका छ ।

You may also like...

Leave a Reply

Your email address will not be published. Required fields are marked *