१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वडामा खटिने निर्वाचन अधिकृतलाई प्रशिक्षण



झापा– नेपाली कांग्रेसको वडा अधिवेशनका लागि खटिएका मतदान अधिकृत र सहायक अधिकृतलाई निर्वाचन प्रक्रियाबारे प्रशिक्षण दिइएको छ । झापाका १५ वटा पालिकाका १३१ वडामा खटिएका मतदान अधिकृत र सहायक अधिकृतहरुलाई निर्वाचन निर्देशिका, नेपाली कांग्रेसको विधान, नियमावली लगायतका विषयसहित वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयनमा भएको समानुपातिक व्यवस्थाका बारेमा प्रशिक्षण दिइएको हो ।

प्रशिक्षणमा नेपाली कांग्रेस झापाका निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले सौहार्दपूर्ण तरिकाले पार्टी संगठन बलियो बनाउने गरी सहमति, सहकार्य र एकताको नीति अपनाउँदै निर्वाचन सफल पार्न निर्देशन दिनुभयो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले वडा एवम् क्षेत्रीय प्रतिनिधिका लागि क्रियाशील सदस्य संख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेको जानकारी दिँदै उहाँले सोही आधारमा निर्वाचन सम्पन्न गराउन आग्रह गर्नुुभयो ।

प्रशिक्षणमा बोल्दै नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आग्रह गर्नुभयो । वरिष्ठ पत्रकार कृष्ण हुमागाईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । प्रशिक्षणमा नेपाल शिक्षक महासंघका अध्यक्ष तेजप्रसाद चौलागाई, नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद खरेल, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पुर्वेली लगायतको उपस्थिति थियो ।

नेपाली कांग्रेस झापा जिल्ला निर्वाचन समितिको कार्यतालिका अनुसार भदौ १८ गते मतदान केन्द्र चयन, मतदान व्यवस्थापनका लागि पूर्वतयारी कार्य हुनेछन् । भदौ १९ गते ११ बजे मतदाता नामावली प्रकाशन, १२ बजेदेखि २ बजेसम्म उम्मेद्वारी दर्ता, २ बजेदेखि २ः३० सम्म उम्मेद्वारी उपर दावीविरोध, ३ बजे उम्मेद्वारको नामावली प्रकाशन, उम्मेद्वारी फिर्ता ३ बजेदेखि ५ बजेसम्म र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन साँझ ५ः३० बजे तय गरिएको छ ।

१३१ वटै वडाका लागि तोकिएको कार्यतालिका अनुसार सहमति भएको अवस्थामा १९ गते नै निर्वाचन प्रक्रिया पूर्ण हुनेछ भने निर्वाचन गराउनुपर्ने अवस्थामा भदौ २० गते ९ बजेदेखि १ बजेसम्म मतदानको समय तय गरिएको छ । मतगणना र परिणाम घोषणा मतदान सकिएलगत्तै प्रारम्भ हुने समयतालिका जिल्ला निर्वाचन समितिले तय गरेको छ ।

वडा अधिवेशनले वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछ । गाउँ÷नगर कार्य समितिमा क्षेत्रीय प्रतिनिधिले मात्रै भोट दिन पाउने भएपछि क्षेत्रीय प्रतिनिधिका आकांक्षी बढेका छन् । झापाका धेरै वडामा सहमतिको सम्भावना रहे पनि केही स्थानमा प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार ००:००  ६ : ०४ बजे