१३ मंसिर २०८०, बुधबार | Wed Nov 29 2023

मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौँमा



झापा– नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलको लागि भारतीय फुटबल टोली काठमाडौं आइपुगेको छ । नेपाल र भारतबीच १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुनेछ ।

दुवै खेलले फिफा मान्यता पाएका छन् । सोही खेल खेल्न भारतीय टोली अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेको थियो । गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशनले २५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टिमको कप्तान सुनिल क्षेत्री रहेका छन् । यस्तै गोलरक्षक गुरप्रीत सिंह सन्धुसमेत नेपाल भ्रमणमा रहनेछन् ।

नेपाल भ्रमणमा रहँदा भारतीय टोली होटल सोल्टी क्राउनमा बस्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले न्युज कारखानालाई जानकारी दिए । टोलीले सातदोबाटो स्थित एन्फा मैदान, दशरथ रंगशाला र आर्मी मैदानमा अभ्यास गर्ने कार्यक्रम रहेको छ ।

नेपाललेसमेत भारतविरुद्ध खेलको लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए । १५ दिन पोखरामा अभ्यास गरेपछि नेपाली टोली हिजो ९आइतबार० काठमाडौ फर्किएको हो ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ००:००  ६ : ०१ बजे