देवकोटाको प्रतिमा टाउको छिनाइएको अवस्थामा फेला
भद्रपुर– झापाको भद्रपुर नगरपालिका–९ स्थित देवकोटा चोकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक तोडफोड भएको छ । अज्ञात समूहले आइतवार राति देवकोटाको अर्धकदको प्रतिमा तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिले जनाएको छ ।
समितिका सचिव राजु बरालले टाउको र शरीर विच्छेद गरी जमिनमा राखिएको अवस्थामा सोमबार विहान प्रतिमा भेटिएको बताए । २०५१ सालमा उक्त प्रतिमा स्थापना गरिएको थियो ।
प्रतिमा तोडफोडको घटनाप्रति खेद व्यक्त गर्दै समितिले दोषी उपर कार्वाहीको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले तोडफोडमा संलग्नको खोजी कार्य भइरहेको जनाएका छन् ।