६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मुठ्ठीमा सातहजार रुपैयाँसहित भेटियो महिलाको शव




झापा– झापाको अर्जुनधारा–६ स्थित विहानी टोलमा आज विहान एकजना महिलाको शव उत्तानो परेको अवस्थामा फेला परेको छ । झापाको खुदुनावारी घर भई उक्त ठाउँमा भाडामा बस्दै आएकी ४५ वर्षीया सावित्रा खँड्का विश्वकर्माको शव भेटिएको हो ।

ट्रान्सफर्मरको मुनि बिजुलीको पोलसँग जोडिएको अवस्थामा खँड्काको शव भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । डीएसपी सन्तोष आचार्यले ट्रान्सफर्मर मुनि अर्थिङको तारले छोएको जति भाग डढेको अवस्थामा महिलाको शव भेटिएको जानकारी दिए ।

गएराति १० बजे मादक पदार्थ सेवन गरेर कराउँदै हिँडेको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । श्रीमान्सँग बेलुका झगडा गरेर हिँडेकी सावित्राले मुठ्ठीमा बोकेको सातहजार सातसय रुपैयाँ फेला परेको छ । प्रहरीका अनुसार उनले आइतवार आफूसँग भएको सुन धरौटी राखेर पैसा ल्याएकी थिइन् ।

करेन्ट लागेर उनको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि घटनाको अनुसन्धान सुरु गरिने डीएसपी आचार्यले बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ००:००  ५ : ०७ बजे