बुधवारे–बुद्धशान्ति गाउँपालिकाका २९ जना अपाङ्गता भएका विपन्न व्यक्तिलाई आज खाद्यान्न वितरण गरिएको छ । बुधबारे जेसीज, बुद्धशान्तिका लागि हामी अभियान, बरपीपल बचत तथा ऋण सहकारी संस्था र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त आयोजनामा खाद्यान्न वितरण गरिएको हो ।
प्रतिव्यक्ति एक बोरा चामल, दाल, तेल, न्युटेला, नुन, साबुन तथा मास्क वितरण गरिएको छ। करीव ६० हजार मूल्य बरावरको सामान वितरण गरिएको हो ।
आयोजक चारबटै संस्था बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्ले, बुद्धशान्तिका लागि हामी अभियानका संयोजक चन्द्र उप्रेती, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्तिका अध्यक्ष हरि पौड्याल र जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईको संयुक्त सभापतित्वमा भएको कार्यक्रममा एकका लागि एक अभियान झापा सह संयोजक बिनोद वस्नेतको प्रमुख आतिथ्य थियो ।
कार्यक्रमका प्रमुख अतिथि वस्नेतले संकटको बेला राहत वितरण गरेर आयोजक सबै संस्थाले पुन्यको काम गरेको बताउनु भयो । उहाँले एकका लागि एक अभियान आम नागरिकको साथले सञ्चालन भएकाले सदैव नागरिकको हितका निम्ति कार्य भईरहेको बताउनु भयो ।
शान्ति अपाङ्ग समाज बुद्धशान्तिका अध्यक्ष सावित्रा ढुंगेल, बुद्धशान्ति साप्ताहिकका अध्यक्ष मदन प्रसाईको आतिथ्यता रहेको कार्यक्रममा कार्यक्रम संयोजक बुधबारे जेसीजका कानुनी सल्लाहकार गजुहाङ योङहाङले स्वागत मन्तव्य र बुधबारे जेसीजका सदस्य गोकुल पौड्यालले जेसीज आस्था बाचन गरेका थिए ।
बुधबारे जेसीजका महासचिव सुजित बरालले सञ्चालन गरेको कार्यक्रममा शान्ति अपाङ् समाज बुद्धशान्तिका अध्यक्ष सावित्रा ढुंगेलसहित आयोजक चारवटै संस्थाका अध्यक्ष तथा प्रमुखहरुले मन्तव्य राखेका थिए ।