जनकपुर–धनुषामा आफ्नै बाबु र श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जिल्लाको मिथिलाबिहारी नगरपालिका–५ ललियाका २७ वर्षीय भागेश्वर मण्डलले आफ्नै बुवा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिका देवी मण्डलको हत्या गरेका हुन् ।
ससुरा र बुहारीबीच अनैतिक सम्बन्ध रहेको आशंकामा भागेश्वरले दुवैको हत्या गरी घर नजिकैको झाडीमा खाल्डो खनेर गाडेका थिए ।
भागेश्वरले सोमवार मध्यराति दुवैलाई लाठी र डोरीले दुवैको घाँटी च्यापेर हत्या गरेको प्रहरीले जनाएको छ । मंगलवार विहान स्थानीयले नजिकैको आँपको बगैंचामा खाल्डो खनेर पुरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनापश्चात भागेश्वरलाई पक्राउ गरी सोधपुछ गर्दा उनले घटना गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।
स्थानीयका अनुसार भागेश्वर एक वर्षअघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमती बीच अनैतिक सम्बन्ध रहेको आशंका गर्दै आएका थिए । जसको कारण उनको पत्नीसँग दिनहुँ झगडा हुँदै आएको थियो । भागेश्वर र अम्रिका देवीका दुई छोराछोरी छन् ।
अभियुक्त भागेश्वरलाई हिरासतमा लिई घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मनोजकुमार बस्नेतले बताए ।