७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

पूर्वाञ्चल क्यान्सर अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा सुनिश्चित



बिर्तामोड– झापाको बिर्तामोडमा स्थापना भएको पूर्वाञ्चल क्यान्सर अस्पतालले भौतिक पूर्वाधार, अत्याधुनिक उपकरण र दक्ष जनशक्ति व्यवस्थापनमा आफूलाई पूर्णता दिँदै लगेको छ । स्थापना भएको डेढ वर्षको अवधिमा अस्पतालले क्यान्सरसँग सम्वन्धित सबै प्रकारका उपकरण र विशेषज्ञ चिकित्सकको सेवा सुनिश्चित गरेको हो ।

भौतिक पूर्वाधार, दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक उपकरणको उपलब्धताले पूर्वाञ्चल क्यान्सर हस्पिटल अब दक्षिण पूर्वी एसियाकै नमुना भएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताए । ‘क्यान्सर रोगको उपचारका लागि सबै हिसाबले एउटा भरपर्दो स्वास्थ्य प्रतिष्ठानका रुपमा पूर्वाञ्चल क्यान्सर हस्पिटल उभिएको छ’, कार्यकारी निर्देशक प्रसाईले भने ।

क्यान्सर हस्पिटलमा डा. वीरेन्द्र यादव नेतृत्वमा डा. प्रियङ्का कटुवालसहितको नौ सदस्यीय विशेषज्ञ टोली कार्यरत छ । तीन सदस्यीय टोली भर्खरै थपिएको हो । अब भरतपुर क्यान्सर अस्पतालमा १२ वर्षदेखि सर्जनका रुपमा कार्यरत डा. मुक्ति देवकोटा र क्यान्सर रोगकै नाक, कान र घाँटीका सर्जन डा बजरंग साह पूर्वाञ्चल क्यान्सर अस्पतालमा जोडिएका छन् ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा सबै प्रकारको क्यान्सरको सर्जरी सम्भव भएको डा. देवकोटाले बताए । चाहिएको बेला सहयोग माग्न सक्ने गरी बीएण्डसी टिचिङ हस्पिटलको ७० जनाको चिकित्सकीय टोली ब्याकअपमा छ । दक्ष जनशक्ति र आधुनिक उपकरणको सहायताले अस्पतालको उपचार सेवा भरपर्दो र विश्वसनीय बन्दै गएको क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. यादवले बताए ।

‘क्यान्सर रोगको जुनसुकै उपचारका लागि हाम्रो विशेषज्ञ टोली तम्तयार छ’, डा. यादवले भने । अस्पतालको तथ्याङ्क अनुसार नेपालमा वर्षेनि थपिने कुल क्यान्सर रोगीमध्ये झण्डै २५ प्रतिशत रोगीले पूर्वाञ्चल क्यान्सर अस्पतालबाट १८ महिनामा उपचार सेवा लिएका छन् ।

नेपालमा वर्षेनि ३० देखि ३५ हजार क्यान्सर रोगी थपिन्छन् । तीमध्ये प्रत्येक बर्ष १५ देखि २० हजारको मृत्यु हुँदै आएको तथ्याङ्क छ । क्यान्सर संक्रमित ६० प्रतिशत बिरामीको समयमा उपचार नपाँउदा मृत्यु हुने गरेको देखिएको डा. यादव बताउँछन् । चेतनाको अभावमा धेरै बिरामीले अल्पायुमा ज्यान गुमाइरहेको देखिएको छ । अस्पतालले सबैभन्दा बढी स्तन क्यान्सरका रोगीको शल्यक्रिया गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार ००:००  ७ : २० बजे