झापा– नेकपा एमालेको जिल्लास्तरीय समानान्तर कमिटी अन्तत नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । शनिवार बसेको समानान्तर कमिटीको भेलाले माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीमा समाहित हुने निर्णय लिएको हो ।
एमालेको आन्तरिक विवाद सडकमा आइपुग्दा झापामा तत्कालीन वरिष्ठन नेता नेपालको उपस्थितिमा समानान्तर कमिटी गठन घोषणा भएको थियो । पुराना कम्युनिष्ट नेता वेदराज रेग्मीले झापामा समानान्तर कमिटीको कमाण्ड सम्हालेका थिए । कमिटीमा नीलमणि बराल सचिव छन् ।
तिनै रेग्मी नेतृत्वको कमिटीले नेता नेपाललाई साथ दिएर कम्युनिष्ट आन्दोलनको पक्षमा दृढतापूर्वक उभिने संकल्प गरेको हो । पार्टीको जनाधार बलियो बनाउँदै समानान्तर कमिटीलाई नेकपा एकीकृत समाजवादीमा समाहित गर्ने निर्णय भएको रेग्मीले बताए ।
‘केपी शर्मा ओलीले एकताको आधार समाप्त पारेपछि उनको नेतृत्वमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने ठहर गर्दै एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेका छौँ’ अध्यक्ष रेग्मीले भने । बैठकले कम्युनिष्ट आन्दोलनलाई बचाउन ओली नेतृत्वको एमालेबाट विद्रोह गर्न पनि सबै नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ ।
बैठकमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेश खरेलले सम्बोधन गरेका छन् । समाजवादी पार्टी गठन भएको दिन नेता खरेलले आफू नेपालको पक्षमा नरहेको जनाउँदै सञ्चारमाध्यममा प्रतिक्रिया दिएका थिए । तीन दिन नबित्दै उनको धारणा बद्लिएको हो । लामो समयदेखि खरेल नेता नेपालको समूहमा छन् ।
केन्द्रीय सदस्य खरेलले अहिलेको विद्रोह बाध्यात्मक र अनिवार्य आवश्यकता भएको बताए । बैठकमा नेताहरु लोकबन्धु कन्दङ्वा, रोमणि भट्टराई लगायतको सहभागिता रहेको थियो । यसअअघि वैशाख ३ गते रेग्मीको नेतृत्वमा एमाले समानान्तर कमिटी गठन भएको थियो ।