बिर्तामोड– साहित्य चौतारी झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको प्रथम स्मृति दिवस मनाएको छ । हस्त परियारको अध्यक्षता तथा शिक्षासेवी लोकनाथ पौड्यालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेका छन् । संस्थाका पूर्व महासचिव राजेन्द्र संग्रौलाले राष्ट्रकवि घिमिरेको जीवनीवारे चर्चा गरेको कार्यक्रममा इलामे जेठो, चित्रा पौड्याल कोइरालाले राष्ट्रकवि घिमिरेद्धारा रचित कविता बाचन गरेका छन् ।
कार्यक्रममा जीवन जगदिश धिताल, अनुजा कडरिया, विदिस सिग्देल, मिन्सुहाङ लिम्बु, सञ्जिव बराइली, रोहिका तिम्सिना, भूमिका गिरी लगायतले राष्ट्रकवि घिमिरेका गीत प्रस्तुत गरेका छन् । होटल हिकोला हेरिटेजको सातौँ बार्षिकोत्सवको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा साहित्य चौतारीका संस्थापक संरक्षक देबिभक्त श्रेष्ठले होटल हिकोला हेरिटेजको स्थापनादेखि हालसम्मको अवस्था र साहित्य चौतारीको स्थापना कालदेखि नै राष्ट्रकवि घिमिरेले पुर्याएको योगदानको वारेमा चर्चा गरेका छन् ।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले पर्यटन प्रवद्र्धनमा साहित्य, कला, सँस्कृतिले पारेको प्रभाव र कोरोना कहरले होटल व्यवसायको क्षेत्रमा पारेको असरवारे चर्चा गरेका छन् ।
संस्थापक संरक्षक श्रेष्ठकी छोरी मनिता श्रेष्ठको जन्मदिन समेत मनाइएको कार्यक्रममा साहित्य चौतारी संरक्षक उर्मिला विमली श्रेष्ठ, उपाध्यक्ष दीपक रायमाझी, कोषाध्यक्ष भवानी गौतम, तुलसीप्रसाद भट्टराई, मणि बर्देवा, मनिका चुडाललगायतको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन महासचिव खगेन्द्रा खुसी गरेकी छन् ।