झापा– नेकपा एमाले झापाका पूर्व अध्यक्ष रविन कोइरालाले पनि आफू माधव नेपालको पार्टीमा नरहेको स्पष्ट पार्नुभएको छ । लामो समय माधव झलनाथ समूहसँग निकट रहनु भएका कोइरालाले उहाँहरुको साथ छोडेको बताउनुभएको हो ।
कोइरालाले भन्नुभयो ‘माधव कमरेडलाई पार्टी विभाजन नगरौं भनेर सम्झाएको मान्नुभएन । मैले विभाजनलाई साथ दिन सकिन ।’ कोइरालाको नाम नेपालले बनाएको केन्द्रीय समितिमा छ । ‘म लामो समयदेखि माधव झलनाथको विचार समूहमा थिएँ । तर, एमाले विभाजन गर्ने उहाँहरुको विचारलाई मैले साथ दिन सकिन । म पार्टीको मुलधारमै छु’ कोइरालाले भन्नुभयो, ‘२०५४ सालमा भएको एमाले विभाजनबाट हामीले धेरै कुरा सिक्नु पर्दछ ।’
मेचीनगर नगरपालिकाका पूर्व मेयर कोइराला २०५४ सालको विभाजनमा नेकपा मालेतिर लाग्नुभएको थियो । कोइरालाले २०७० सालको संविधानसभाको निर्वाचनमा झापा १ बाट कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई चुनाव हराउनुभएको थियो ।