बिर्तामोड– व्यवसायिक क्षेत्रको तीव्र दबाबमा झापामा निषेधाज्ञा खुकुलो भएपछि सरोकारवालाले बजारक्षेत्रमा अनुगमन सुरु गरेका छन् । स्वास्थ्य मापदण्ड पालना भए नभएको विषयमा अनुगमन सुरु गरिएको हो ।
यसअघि आइतबार जिल्ला प्रशासन कार्यालय झापाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै बजार क्षेत्र खुला गर्ने निर्णय लिएको थियो । व्यवसायिक दबाबमा प्रशासनले कोरोना सङ्क्रमणका बीच बजार क्षेत्र खुला गरेको हो ।
स्थानीय प्रशासनले स्वास्थ्य मापदण्डका आधारमा व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय सार्वजनिक गरिरहँदा सोमबार झापामा २३४ जना कोरोना संक्रमित थपिएका थिए ।
बढ्दो संक्रमण रोक्न कडाइपूर्वक स्वास्थ्य मापदण्डको पालना गर्नुपर्नेमा व्यवसायिक क्षेत्र सचेत रहेको र त्यसका लागि आम व्यवसायीलाई आग्रह गरिएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।
सरोकारवालाको टोलीले आज बिर्तामोड क्षेत्रको अनुगमन गर्दै स्वास्थ्य सामग्री वितरण गरी स्वास्थ्य मापदण्डको पालनामा सबैलाई सचेत गराएको छ ।