बिर्तामोड– लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले झापाको बिर्तामोडस्थित बसपार्कबाट पक्राउ गरेको छ । आज मध्यान्ह चेकजाँचका क्रममा उनीहरुको समातिएका हुन् ।
पक्राउ पर्नेमा अर्जुनधारा- बस्ने २७ वर्षिय मनोज चौधरी र सोही ठाउँका २३ वर्षीय सुमन तामाङ छन् । शंका लागेर चेक जाँच गर्दा उनीहरूका साथमा लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका युवकका साथमा २० ग्राम ब्राउनसुगर भेटिएको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो । उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुले प्रयोग गर्दै आएको मे २ प ८६८६ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइने डीएसपी थापाले बताउनुभयो ।