झापा– आगो लगाएर श्रीमतीलाई मारेको अभियोगमा पक्राउ परेका सिराहाका एक युवकको आजीवन जेलकाे बास हुने भएको छ । आराेप पुष्टि भएपछि जिल्ला अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको हो ।
सिराहाको औरही गाउँपालिका-५ का २६ वर्षीय विनोद यादवलाई अदालतले दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाएको छ । पुर्पक्षका लागि थुनामा रहेका यादवको मुद्दामा अन्तिम फैसला गर्दै अदालतले उक्त ठहर गरेको हो ।
जिल्ला न्यायाधीश मनोजकुमार श्रीवास्तवको एकल इजलासले आजीवन कारावासको सजाय सुनाएपछि अब यादवको बास जेलमा हुने भएको छ । प्रहरीका अनुसार २०७६ माघ १० मा उनले २१ वर्षीया श्रीमती अनिता यादवलाई आगो लगाएका थिए ।
जलेर घाइते भएकी अनितालाई उनी आफैंले अस्पतालमा भर्ना गरेको प्रहरीले जनाएको छ । विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा माघ १२ गते अनिताको मृत्यु भएको थियो । घटनापछि उनका बुवा अशोकले जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दिएका थिए ।