झापा– नेकपा माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेको छ । आजदेखि काठमाडौंको बत्तिसपुतलीमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव राख्नु भएकाे हो।
स्थानीय र प्रदेशस्तरका अधिवेशन सकेपछि पुस ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ । प्रस्तावअनुसार माओवादी केन्द्रले भदौ मसान्तभित्र देशभरि पार्टी सदस्यता वितरण एवम् नवीकरणको काम सम्पन्न गर्नेछ ।
असोजमा टोलदेखि वडा हुँदै गाउँ सम्मेलन र कात्तिकमा जिल्ला अधिवेशन गर्ने तयारी सुरु गर्न अध्यक्ष प्रचण्डले पार्टी पंक्तिलाई निर्देशन पनि दिनु भएको छ । मंसिरमा प्रदेशको अधिवेशन सम्पन्न गर्ने गरी प्रस्ताव अघि सारिएको हो ।