झापा– स्थानीय प्रशासनले धरौटी लिएर मात्र कोरोना संक्रमितको उपचार गर्ने झापाका निजी अस्पतालमाथि कडाई गर्न थालेको छ । धरौटी रकम जम्मा नगरी कोरोना संक्रमितको उपचार नगर्ने निजी अस्पतालको कार्यशैलीमाथि प्रश्न उठाउँदै जिल्ला प्रशासन कार्यालय झापाले त्यस्तो कार्य रोक्न निर्देशन दिएको हो ।
पैसा भन्दा पनि संक्रमितको उपचारलाई प्राथमिकतामा राखिनुपर्ने भन्दै प्रशासनले धरौटी लिने कार्य अविलम्व रोक्न जिल्लाका सबै अस्पताललाई निर्देशन दिएको छ । निजी अस्पतालले धरौटी रकम जम्मा नगरी कोरोना संक्रमित भर्ना गर्न नमानेको विषयमा चौतर्फी गुनासो बढेको थियो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सरकारी नीतिविपरीत धरौटी नलिन अस्पतालहरुलाई निर्देशन दिइएको बताउनु भयो । ‘धरौटीबिना उपचार नगर्ने थाहा पाएपछि पत्र लेखेरै त्यस्तो कार्य रोक्न निर्देशन दिएका छौँ’, प्रजिअ तिम्सिनाले भन्नुभयो ।
प्रशासन कार्यालयले संक्रमितको निशुल्क उपचारको व्यवस्थापन मिलाउने विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको जनाएको छ । सरकारी तहबाट सम्झौता भई झापाको दमकका दुईवटा अस्पतालमा मात्रै संक्रमितको निशुल्क उपचार हुँदै आएको छ ।
प्रशासन कार्यालयले निशुल्क उपचारको दायरा फराकिलो बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो । ‘कम्तीमा पनि बिर्तामोडका दुई वटा अस्पतालमा संक्रमितको निशुल्क उपचारको व्यवस्था भयो भने धरै ठूलो राहत हुन्छ, प्रजिअ तिम्सिनाले भन्नुभयो ।
संक्रमितको संख्या बढ्दै जाँदा झापाका निजी अस्पतालले सुरुमा कम्तीमा दुई लाख रुपैयाँ धरौटी रकम लिँदै आएका छन् । पहिल्यै धरौटी रकम जम्मा गर्नु पर्दा संक्रमित र तिनका परिवार झन् मारमा परेका छन् ।