१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

प्रहरी हुँ भन्दै बिर्तामोडमा पैसा असुल्ने दुईजना पक्राउ



झापा– आफूलाई सादा पोशाकका प्रहरी बताउँदै सर्वसाधारणसँग पैसा असुली गरेको अभियोगमा दुई जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले हिजाे पक्राउ परेको छ ।

पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिका-७ का ४० वर्षीय विकास सुवेदी र बिर्तामोड नगरपालिका-३ पश्चिम धर्मकाँटा बस्ने ३२ वर्षीय टीका खत्री रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफूलाई प्रहरी बताउँदै उनीहरुले बिर्तामोड-५ जात्रुवारी स्थित नयनसरी राजवंशीको घरमा पुगेर पैसा असुली गरेका थिए । राजवंशीको छोरो लागूऔषध प्रयोगकर्ता भएको र आफूले बचाई दिने भन्दै उनीहरुले २० हजार रुपैयाँ मागेका थिए ।

राजवंशीले आफूसँग तेत्रो पैसा नभएको जनाएपछि ११ सय रुपियाँ लिएर उनीहरु हिँडेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो। फेरि आउने भन्दै हिँडेका उनीहरुले साउन १४ गते राति राजवंशीका छोरा विशाललाई बेल्टले कुटेर घाइते बनाएका थिए ।

घटनापछि पीडित राजवंशीले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको र अभद्र व्यवहार मुद्दा अन्तर्गत अनुसन्धान कार्य अगाडि बढाइएको डिएसपी थापाले बताउनुभयो ।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार ००:००  १२ : ५० बजे