१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

झापामा निषेधाज्ञाले रोकिएन संक्रमण



बिर्तामोड– निषेधाज्ञा जारी गरेर कोरोनाको चेन ब्रेक गर्ने स्थानीय प्रशासनको निर्णय झापामा असफल उन्मुख देखिएको छ । निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनमा चुनौति देखिरहेका बेला संक्रमितको संख्या झन् उकालो लागेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले स्थानीय तहको सँगको छलफलपछि साउन १६ गते मध्यरातिदेखि निषेधाज्ञा जारी गरेको थियो । एक साताका लागि जारी भएको निषेधाज्ञाको अवधि बढाइएको छ । तर पनि संक्रमण घट्न सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो तीन दिनयता झापामा ८७५ जना संक्रमित थपिएका छन् । साउन २५ मा ३०२ जना, साउन २६ मा २२९ जना र साउन २७ मा ३४४ जना संक्रमित थपिएका हुन् ।

निषेधाज्ञा चलिरहँदा संक्रमण घट्न नसकेको जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांकले पुष्टि गरेको हो । संक्रमण बढ्दै जाँदा मानवीय क्षतिका घटना पनि बढेका छन् ।

कोरोना संक्रमण सुरु भएका झापामा साउन २७ गते साँझसम्म मा ५०३ जनाको मृत्यु भइसकेको छ । पहिलो भन्दा दोस्रो लहरकाे संक्रमणमा ज्यानको गुमाउनेको संख्या अधिक छ । ‌

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार ००:००  ३ : ५३ बजे