झापा– स्वास्थ्य सेवा विभागले विद्यार्थीलाई कोरोना भाइरस विरुद्धको खोप अविलम्ब उपलब्ध गराउने विषयमा सातवटै प्रदेश र जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजकाे सचिवस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयका विभिन्न तहको परीक्षामा सामेल विद्यार्थीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।
विभागले अविलम्ब उक्त निर्णय कार्यान्वयन गर्दै जिल्ला खोप समन्वय तथा अनुगमन समितिसँग परामर्श गरी परिचय पत्रका आधारमा विद्यार्थीलाई खोप उपलब्ध गराउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।
खोप केन्द्र र मिति निर्धारण गरी कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन जिल्ला र प्रदेश तहमा परिपत्र गरिएको विभागका निर्देशक डाक्टर तारानाथ पोखरेलले बताउनुभयो ।