झापा– कोरोना भाइरसको बढ्दो संक्रमणको जोखिम देखाउँदै सरकारले तरकारीमा विषादी जाँच गर्न छोडेको छ । विषादी जाँच बिनानै बजारमा तरकारीको बिक्री वितरण भइरहेको खुलेको हो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका उपाध्यक्ष सुवर्णप्रभा गुरागाईंले कोरोना संक्रमण देखिनु अघिसम्म आयातित तरकारीमा विषादी परीक्षण हुँदै आए पनि पछिल्लो समय सरकारले परीक्षण गर्न छोडेको बताउनुभयो ।
यसअघि सरकारले भारत लगायतका देशबाट भित्रिएको तरकारीमा विषादीकाे मात्रा परीक्षण गर्दै आएको थियो । भारत लगायतका देशबाट तरकारी ल्याउँदा २९ प्रकारका विषादी परीक्षण गर्नुपर्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने विदेशबाट ल्याउने गरेको तरकारीको विषादी परीक्षण अहिले पनि नरोकिएको दाबी गरेको छ । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले देशका ६ स्थानमा तरकारीमा विषादीको मात्रा परीक्षण भइरहेको जानकारी दिनुभयो ।