बिर्तामोड– राजमार्गमा सबै किसिमका आवतजावत खुला गरेर झापामा निषेधाज्ञाको नाटक गरिएको भन्दै विरोधमा उत्रिएको बिर्तामोडको व्यवसायिक समूहले एकजना होटल सञ्चालकलाई स्थानीय प्रशासनले २० हजार रुपैयाँ जरिवाना गराएको घटनाप्रति कडा आक्रोस व्यक्त गरेको छ ।
होटल खोलेको निहुँमा धरपकड गरिएको जनाउँदै व्यवसायिक समूहले प्रशासनको निर्णय खेदजनक भएको जनाएको हो । गएराति निषेधाज्ञा उलघंन गरेर खोलिएको भन्दै प्रहरीले बिर्तामोडको फुट स्टेप होटलका सञ्चालक तिलहाङ लिम्वूलाई पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले आवश्यक कार्बाहीका लागि भन्दै बुझाएका लिम्वूलाई जिल्ला प्रशासन कार्यालय झापाले २० हजार जरिवाना तिराएको हो ।
घटनाप्रति आपत्ति जनाउँदै नेपाल अलैची व्यवसायी महासंघका महासचिव सुवास भट्टराईले औँलामा गन्न सकिने व्यवसाय खुला राखेर होटल खोलेको सामान्य निहुँमा सञ्चालकलाई २० हजार जरिवाना गराइनु खेदजनक भएको बताउनु भयो ।
व्यवयासीलाई खोप उपलब्ध गराउनेतर्फ प्रशासनको ध्यान जानुपर्ने बताउँदै महासचिव भट्टराई दमनको यस्तै नीति कायम रहे तालाचावी बुझाउन बाध्य हुने चेतावनी दिनुभयो ।