६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

एमालेमा अब शक्तिशाली अध्यक्ष



झापा–पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने गरी एमाले अघि बढेको छ। अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित हुने गरी विधान संशोधन गरिने भएको छ। अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्ले अगाडि लेख्छन्, महासचिवसहित अन्य पदाधिकारी केन्द्रीय कमिटीबाट आउनेछन्।

अध्यक्षलाई एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनसम्म ढुक्कसम्म काम गर्न सक्ने परिकल्पना संशोधित विधानले गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।

केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो। यसलाई पार्टीका तल्लो कमिटीमा छलफलमा लगी आगामी विधान महाधिवेशनबाट अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ। विधान महाधिवेशन यसअघि नै भदौ २७ गतेदेखि दुई दिन तय भइसकेको छ।

हालको विधानमा अध्यक्षसहित उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव २ र सचिव ५ गरी १४ पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ। अब पदाधिकारीमा उपाध्यक्ष घटाएर २ जना मात्रै रहने प्रस्ताव गरिएको छ।

यस्तै, १ महासचिव, २ उपमहासचिव, ७ सचिवको व्यवस्था गरिएको छ। सचिवदेखि समावेशी बनाइने भएको छ। पार्टीका सबै तहका कमिटी, आयोग वा परिषद्मा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न प्रस्ताव गरिएको छ।

निर्वाचनमा प्यानल बनाउन बन्देज लगाइएको छ। बुटवलमा २०६५ फागुन ५ देखि १४ सम्म भएको आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिवसहितको ‘बहुपदीय व्यवस्था’ गरिएको थियो।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार ००:००  ३ : २४ बजे