झापा–महाधिवेशन पछाडि धकेल्ने पार्टी नेतृत्वको कार्यशैलीविरुद्ध नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीब्र आक्रोश व्यक्त गर्नुभएको छ । महाधिवेशनमा भइरहेको ढिलाईप्रति नेता पौडेलले आक्रोश व्यक्त गर्नुभएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको चरम असफलता र लापरवाहीका कारण महाधिवेशनमा ढिलाई भइरहेको आरोप नेता पौडेलले लगाउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै नेता पौडेल नेतृत्वप्रति खनिनु भएको हो ।
सदस्यता विवाद निरूपण गर्न नसकेपछि नेपाली कांग्रेसको महाधिवेशन तोकिएको मितिमा हुने कि नहुने भन्नेबारे अनेकौँ आशंका र अड्कलबाजी भइरहेका छन् । पटक–पटकको ढिलाईपछि आगामी भदौ १६ देखि १९ सम्मका लागि काङ्ग्रेसले १४ औं महाधिवेशनको मिति तोकेको छ ।
संविधानत दोस्रो पटक थपेको समय पनि सकिन लाग्दा सदस्यता विवाद निरूपण नभएपछि नेता पौडेल पार्टी नेतृत्वप्रति आक्रोशित हुनु भएको हो । पार्टी सभापति देउवा महाधिवेशन सार्ने खेलमा लागेको सुइँको पाएपछि नेता पौडेलले सर्वत्र असफल व्यक्ति बारम्बार सत्तामा पुग्नु देशका लागि विडम्बना हुने भन्दै आक्रोश पोख्नु भएको छ ।
‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधान समातेर छ महिना बढाइयो। आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ’, पौडेलले फेसबुकमा लेख्नु भएको छ ।
नेपाली काङ्ग्रेसको विधानले हरेक चार वर्षमा पार्टी महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ। २०७२ फागुन २४ मा भएको पार्टीको १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापति चुनिएका थिए।