झापा– प्रदेश १ मा कोरोना संक्रमण अनियन्त्रित बन्दै गएको छ । एक दिनमा सात सयदेखि एक हजार दुईभन्दा बढी संक्रमित थपिँदैछन् । परीक्षण गरिएकामध्ये ४० प्रतिशतसम्ममा संक्रमण यकिन भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
अस्पतालमा गम्भीर बिरामीको चाप बढ्न थालेको छ । जसका कारण आइसीयूको अभाव खड्किएको छ । अक्सिजनको सहारामा आइसीयूको पालो पर्खिएर बस्ने संक्रमितको संख्या बढ्दै गएको अस्पतालहरुले जनाएका छन् । संक्रमणको पछिल्लो अवस्थाले तेस्रो लहरको झल्को दिन थालेको जनस्वास्थ्य विज्ञ बताउँछन् ।
जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा बढ्दो नागरिक बेवास्ता, कमजोर नियन्त्रण कार्यशैली, जनस्वास्थ्य मापदण्डको उल्लंघन र अत्याधिक चहलपहल संक्रमण बढ्नुको मुख्य कारण ठान्छन् । दोस्रो भेरियन्ट उत्कर्षको झल्को आउँदा तेस्रो भेरियन्टको संकेत मिलिरहेको उनले बताए ।