स्थानीयतामा आधारित पाठ्यक्रम
मोरङ– विराटनगर महानगरपालिकाले आधारभूत तहका लागि आफ्नै पाठ्यक्रम विकास गरेको छ । स्थानीय भूगोल, भाषा, पर्व र संस्कृति लगायतका विषयमा महानगरले पाठ्यक्रम विकास गरेको हो । प्राध्यापक डा. अनिल पोखरेलको संयोजनमा कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक तयार भएका हुन् ।
महानगरका मेयर भीम पराजुली विद्यार्थीमा स्थानीय तहका भौगोलिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक ज्ञानको अभाव देखिएकाले स्थानीयतामा आधारिता पाठ्यक्रम निर्माण गरिएको बताउँछन् । उनका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा भएको प्रावधान अनुसार तयार गरिएको पाठ्यक्रमले स्थानीय स्तरका बारेमा विद्यार्थीलाई जानकारी गराउन मद्धत गर्नेछ ।
विद्यालय तहको पाठ्यक्रममा १ सय पूर्णाङ्कको पाठ्यक्रम निर्माण गरी स्थानीय तहले लागू गर्न पाउने व्यवस्था अनुसार महानगरको शैक्षिक प्रशासन महाशाखाले ‘हाम्रो विराटनगर’ नाम दिएर स्थानीय पाठ्यक्रम तयार पारेको हो । ‘स्थानीयताका बारेमा अन्योल हुँदा विद्यार्थीमा रचनात्मकताको विकास भएको देखिएन,’ मेयर पराजुलीले भने, ‘सानै उमेरमा विद्यार्थीलाई भूगोलदेखि भेषभुषासम्मका विषयमा ज्ञान दिन आवश्यक थियो ।’
पाठ्यक्रम यसै शैक्षिक सत्रबाट विराटनगरभित्रका निजी तथा सामुदायिक विद्यालयमा लागू गरिएको जानकारी महानगरका शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले बताए । उनका अनुसार यही पाठ्यक्रममा आधारित नेपाली र स्थानीय भाषाका पाठ्यपुस्तक पनि प्रकाशित हुनेछन् । नेपाल शिक्षक संघका शिवराज कोइरालाले पाठ्यक्रम निर्माणले विद्यार्थीहरु स्थानीयताबारे विज्ञ हुने बताए ।