झापा–कोरोना भाइरसको सङ्क्रमण तीव्र भइरहँदा झापामा अक्सिजनको माग बढ्दै गएको छ । सङ्क्रमितले अस्पताल भरिभराउ हुन थालेपछि अक्सिजनको माग बढेको हो । संक्रमित थपिएपछि झापाका सरकारी तथा निजी अस्पताल अक्सिजन जोहो गर्ने अभियानमा लागेका छन् ।
अहिलेसम्म झापामा ठूलो अक्सिजन प्लान्ट नभएकाले त्यसको व्यवस्थापनमा जुट्न जिल्ला प्रशासन कार्यालय झापाले स्थानीय तह र अस्पतालहरुलाई निर्देशन दिएको छ । ‘कम्तीमा आन्तरिक माग धान्ने गरी अस्पतालले अक्सिजन प्लान्ट राख्नुपर्छ भन्ने हो’ झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भने ।
कोरोना भाइरसको दोस्रो लहरको सुरुवाती संक्रमणका बेला झापामा अक्सिजनको अभाव देखिएको थियो । संक्रमित घटेपछि माग कम भए पनि अहिले झापाका निजी तथा सरकारी अस्पतालमा सङ्क्रमितको संख्या ह्वातै बढेको छ । ‘अक्सिजन लगाउनु पर्ने अवस्थाका संक्रमित आउने क्रम बढेको छ’ मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर टंक बाराकोटी भन्छन् ।
अस्पतालमा दैनिक ३५ सिलिण्डर उत्पादन गर्ने क्षमताको अक्सिजन प्लान्ट जडान भएको छ । प्रदेश सरकारको एककरोड रुपैयाँ सहयोगमा अक्सिजन प्लान्ट जडान भए पनि त्यसले अस्पतालको अहिलेको २५ प्रतिशत माग मात्रै धान्छ । ट्रान्फर्मरको समस्याका कारण अस्पतालको उक्त प्लान्टले उत्पादन भने सुरु गरिनसकेको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताए ।
झापामा बिर्तामोडको बीएण्डसी अस्पतालले दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गरिरहेको छ । कोरोना सङ्क्रमणयता त्यसले आन्तरिक माग धान्न सकिरहेको छैन् । माग बढेपछि अस्पतालले दैनिक दुईसय सिलिण्डर उत्पादन क्षमताको प्लान्ट जडान गर्न लागेकोे जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।
झापाका १५ स्थानीय तहमध्ये कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिरहेको छ । आम्दा मेची अस्पताल धुलावारीमा पनि अक्स्जिन प्लान्ट राख्ने तयारी छ । समुदाय तहबाट सङ्गठित भएको एकका लागि एक अभियानले झापामा अक्सिजन बैंक सञ्चालनमा ल्याएको छ । अभियानले चीनबाट पाँच सय सिलिण्डर किनेर ल्याएको हो ।
झापामा १५ दिनयता संक्रमितको संख्या चार हजारको हाराहारीमा थपिएको छ । यसैगरी संक्रमण दर बढ्दै जाने हो भने झापाका सरकारी तथा निजी अस्पताललाई अक्सिजनको माग धान्न सकस पर्ने चिकित्सकहरु बताउँछन् ।