७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

पत्रकार अनुपमले पाए दुर्घटना बीमाको रकम



इटहरी– नेपाल प्रेस युनियन सुनसरीले बुधवार दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । पत्रकार विराट गौतम अनुपमलाई ७० हजार रुपैँया हस्तान्तरण गरिएको हो । युनियन सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार प्रदेश १ का १४ वटै जिल्लाका युनियनका अध्यक्षसहित सुनसरीका तीन सय सञ्चारकर्मी गरी तीन सय १४ जनाको दुर्घटना बीमा गरिएको थियो । तीमध्ये पहिलोपटक दुर्घटनामा परेर घाइते भएका पत्रकार अनुपमलाई दुर्घटना बापतको रकम हस्तान्तरण गरिएको हो ।

‘प्रदेश १ मै पहिलोपटक पत्रकारहरुलाई यसरी दुर्घटना बीमा गर्नु र रकम दिनु नौलो सुरुवात हो,’ अधिकारीले भने, ‘पत्रकारका निम्ति काम गर्ने संस्थाले पहिलोपटक विशुद्ध बीमाबाट आएको रकम हामीले हस्तान्तरण गरेका हौँ ।’ ६ दिनअघि अजोड इस्न्योरेन्सको केन्द्रीय कार्यालय काठमाडौँका सिईओ कुमारबहादुर खत्रीलाई युनियनका अध्यक्ष अधिकारी र नेपाल प्रेस युनियन सुनसरीका सदस्य विवेक विवश रेग्मीले दुर्घटना बिमित पत्रकारको डकुमेन्ट बुझाएका थिए । एक हप्ताभित्र रकम प्राप्त हुने आश्वासन पाएको केहीदिनमै रकम प्राप्त भएसँगै बुधबार उक्त रकम हस्तान्तरण गरिएको हो ।

अधिकारीका अनुसार यसअघि युनियनले जिल्लाका दुई सय ६० जना सञ्चारकर्मीको कोरोना बीमा समेत गरेको थियो । बिमित सञ्चारकर्मीमध्ये ४५ जनालाई कोरोना संक्रमण भएको थियो भने हालसम्म ३० जनाले एकलाखका दरले रकम समेत पाइसकेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गर्दै युनियनले सराहनीय काम गरेको बताए ।

‘दुर्घटना बीमा मलाई आफैँ गर्न मन थियो, जागिर खाने मान्छेलाई दुर्घटना बीमा आवश्यक पर्छ भन्ने अनुभूत भएको छ,’ पत्रकार अनुपमले भने, ‘दुर्घटना बीमा नगरेको भए ठूलो आर्थिक क्षति हुन्थ्यो, युनियनले यसरी पैसा दिनुले धेरै आर्थिक राहत भएको छ ।’ उनी गत वैशाख १६ गते समाचार संकलनका क्रममा लडेर घाइते भएका थिए ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार ००:००  ४ : ०८ बजे