बिर्तामोडमा यसरी बन्दैछ ‘झापा नाटक घर’ बिर्तामोडमा यसरी बन्दैछ ‘झापा नाटक घर’
बिर्तामोड– झापामा बहुजातीय सङ्ग्रहालय सहितको ‘झापा नाटक घर’ निर्माण भइरहेको छ । क्षितिज नाट्य समूहको अग्रसरतामा झापाको बिर्तामोडमा बहुभाषिक सङ्ग्रहालयसहितको नाटक घर निर्माण भइरहेको... बिर्तामोडमा यसरी बन्दैछ ‘झापा नाटक घर’

बिर्तामोड– झापामा बहुजातीय सङ्ग्रहालय सहितको ‘झापा नाटक घर’ निर्माण भइरहेको छ । क्षितिज नाट्य समूहको अग्रसरतामा झापाको बिर्तामोडमा बहुभाषिक सङ्ग्रहालयसहितको नाटक घर निर्माण भइरहेको हो । बहुजातीय सङ्ग्रहालय सहितको ‘झापा नाटक घर’ निर्माण गर्न एक इँटा अभियान सञ्चालन गरिएको छ । विपन्न नागरिक समेतको सहभागिता जुटाउने गरी क्षितिज नाट्य समूहले दाताको सहयोग जुटाएर बहुजातीय संग्रहालय सहितको ‘झापा नाटक घर’ निर्माण गरिरहेको हो ।

‘नहुनेले पनि कम्तीमा एउटा इँटा दिएर नाटक घरप्रति अपनत्व महसुस गरोस् भन्ने हाम्रो उद्देश्य हो’ निर्माण व्यवस्थापन संयोजन समितिका संयोजक ज्ञानुराम प्रसाईले भने, ‘सबै नागरिकको सहयोगले नाटक घर निर्माण पूरा हुन्छ ।’ अहिले नाटक घरको आधा काम सकिएको छ । चालु आर्थिक वर्षमा नाटक घर निर्माणका लागि बिर्तामोड नगरपालिकाले २० लाख रुपैयाँ बिनियोजन गरेको छ । वडाको बजेटबाट पनि चार लाख रुपैयाँ छुट्याइएको छ ।

नाटक घर निर्माणका लागि बिर्तामोडका बैक तथा वित्तिय संस्थाले पनि सहयोग गर्दै आइरहेका छन् । दुई दिन अघिमात्रै संस्थाको आठौँ स्थापना दिवसको अवसर पारेर शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ५१ हजार रुपैयाँ सहयोग गरेको छ । जातिय रहनसहन र संस्कृतिको जगेर्ना गर्न बहुजातिय सङ्ग्रहालयसहित नाटक घरको अवधारणा अघि सारिएको छ ।

नाट्य समूहका सदस्य मनोज निरौलाले साढे तीन कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि दाताबाट सहयोग जुटाएर नाटक घर निर्माण थालिएको छ । एक इँटा अभियानका क्रममा दाताले एक करोड रुपैयाँ भन्दाबढी सहयोग गरेको क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले बताए । ‘एउटा इँटादेखि ५१ हजार रुपैयाँसम्म सहयोग पाएका छौँ, अध्यक्ष कल्पितले भने ।

नाटकप्रति मानिसको आकर्षण भए पनि स्थान अभावमा अपेक्षा अनुसार नाट्क मञ्चन गर्न नसकिएको अवस्थालाई ध्यानमा राखेर समूहले नाटक घर निर्माण गरेको हो ।नाटक घरसँगै जातिय सङ्ग्रहालयसमेत निर्माण हुने भएपछि लोपोन्मुख अवस्थाको कला र संस्कृतिको जगेर्नामा सहयोग पुग्ने अध्यक्ष कल्पित बताउँछन् । आवश्यक पूर्वाधार भएका नाटक घर नहुँदा मोफसलका रङ्गकर्मीहरु प्रतिभा भएर पनि त्यत्तिकै खुम्चिरहेका छन् । यस्तो अवस्थामा झापामा नाटक घर निर्माण भइरहँदा उनीहरु उत्साहित भएको अध्यक्ष कल्पितको बुझाई छ ।