बिर्तामोडको बजेट नीति तथा कार्यक्रम सार्वजनिक बिर्तामोडको बजेट नीति तथा कार्यक्रम सार्वजनिक
बिर्तामोड– झापाको बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ । पाँचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक... बिर्तामोडको बजेट नीति तथा कार्यक्रम सार्वजनिक

बिर्तामोड– झापाको बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ । पाँचौँ नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य एकराज कार्की, नगरप्रमुख ध्रुव शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं लगायतले ‘नगर विकास योजना’ पुस्तिका सार्वजनिक गरेका छन् । नगरपालिकाले चालू आर्थिक वर्षमा १ अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँ बराबरको १३९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रदेशसभा सदस्य कार्कीले नगरपालिकाले तय गरेको ‘पूर्वाधारयुक्त नगर, विषादीरहित कृषि र व्यवसायको अभिबृद्धि, सभ्य र स्वस्थ्य नागरिक, बिर्तामोड नगरपालिकाको समृद्धि’ नारा साकार बनाउन सबै जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिए । उनले नीति तथा कार्यक्रम राम्रो भएर र बजेट छुट्याए मात्र विकास नहुने बताउँदै बजेट कार्यान्वयन महत्वपूर्ण पाटो भएको उल्लेख गरे ।

कार्यक्रममा नेकपा बिर्तामोडका अध्यक्ष ज्ञानुराम प्रसाईंले नगरपालिकाको नीति तथा कार्यक्रमले नगरलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे । आकर्षक बजेट ल्याएर मात्र समृद्धि नहुने बताउँदै त्यसको सदुपयोग हुनुपर्नेमा उनको जोड छ।

‘असारे विकासको अन्त्य गरेर सरकारले तय गरेको समय अनुसार नै विकास निर्माणमा लाग्नु पर्छ’ अध्यक्ष प्रसाईले भने, ‘बजेट सदुपयोग र पारदर्शी अति आवश्यक छ ।’ बिर्तामोडमा फोहोर व्यवस्थापन चुनौतीका रुपमा देखिएकाले सोको व्यवस्थापनका लागि आवश्यक पहल थाल्न उनले आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोडका सभापति एवम् वडा नम्वर ३ का अध्यक्ष भोजराज सिटौलाले बिर्तामोड नगर सरकारले जनताको पक्षमा काम गरिरहेको बताए ।

कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बजेटलाई पारदर्शी तवरले खर्च गरिने बताए । जनताले आफूहरुलाई चुनेर पठाएको बताउँदै उनले भने, ‘जनताले हामीलाई विश्वास गरेर पठाएका छन्, हामीले जनभावना समेटेर समृद्ध बिर्तामोड बनाउन कुनै कसर बाँकी राख्नुहुन्न ।’ उनले सबै कर्मचारीहरुलाई मुस्कानसहितको सेवा दिन समेत आग्रह गरे ।