विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने तयारी विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने तयारी
विराटनगर– कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको... विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने तयारी

विराटनगर– कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई मध्यनजर गरी प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेड बराबरको आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । आज प्रदेशस्तरीय सिसिएमसीको भर्चुअल बैठकले विराटनगरमा कम्तिमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो ।

सिसिएमसिको भर्चुअल बैठकमा मुख्यमन्त्री शेरधन राईले एक हजार बेड क्षमताको थप आइसोलेसन केन्द्र यथाशीघ्र निर्माण गर्ने गरी अगाडि बढ्न एवम् प्रदेशभित्र हालसम्म आइसोलेनको प्रयोगको अवस्थासहित विस्तृत विवरण तयार गर्न निर्देशन दिएका छन् ।

आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ । आइसोलेसन स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा सञ्चालन हुनेछ । बैठकले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यु आदिलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएको स्थानमा मात्र सिल गरी कोभिड १९ को चेन ब्रेक गर्ने निर्णय गरेको छ ।

बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीको लागि तोकिएको प्रवेश विन्दुहरुका अतिरिक्त पशुपतिनगर, रंगेली, टाघनडुवा, गौरीगञ्ज र भन्टावारीलाई थप प्रवेश विन्दु कायम गर्ने निर्णय समेत गरेको छ ।

भोजपुर नगरपालिका–६ स्थित देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा र मदन भण्डारी आँखा अस्पताल उदयपुरमा मा आइसोलेसन वार्ड स्थापना अनुमति समेत बैठकले दिएको छ ।