कोरोना त्रास : जोखिम मोलेर काम गर्छन् चिया मजदूर कोरोना त्रास : जोखिम मोलेर काम गर्छन् चिया मजदूर
झापा– कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उद्योगमा कार्यरत श्रमिकलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री दिएर काममा लगाउनु पर्ने सहमति भए पनि झापाका अधिकांश चिया उद्योगले... कोरोना त्रास : जोखिम मोलेर काम गर्छन् चिया मजदूर

झापा– कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उद्योगमा कार्यरत श्रमिकलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री दिएर काममा लगाउनु पर्ने सहमति भए पनि झापाका अधिकांश चिया उद्योगले यसको पालना गरेका छैनन् । सयौँको संख्यामा चिया बगान र प्रशोधन कारखानामा कार्यरत मजदूर सुरक्षा सामग्रीविना काममा खटिदै आएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सामाजिक दूरी कायम गर्दै मास्कको प्रयोग अनिवार्य गरिएको छ । बढ्दो जोखिम न्युनीकरणका लागि सरकारले मास्क नलगाउनेमाथि कार्वाही पनि गर्छ । तर, झापाका अधिकांश चिया बगान र प्रशोधन कारखानामा कार्यरत मजदूरलाई भने कुनै सुरक्षा सामग्री उपलब्ध गराइएको छैन ।

दैनिक ज्याला मजदूरी नगरी चुलो नबल्ने भएकाले सुरक्षा सामग्रीविना जोखिम मोलेर बगानमा काम गर्नु परेको महिला श्रमिकहरु बताउँछन् । ‘काम नगर्दा भोकभोकै मर्नु पर्छ’, चिया श्रमिक सावित्रादेवी बञ्जराले भनिन्, ‘जोखिम हुँदाहुँदै पनि काम नगरी सुख छैन । सुरक्षा सामग्रीवनै काम गर्न बाध्य छौँ ।’

एक वर्षअघि बृद्धि भएको ज्याला समेत नपाएपछि आन्दोलनको चरणमा रहेका चिया मजदूरलाई कोरोनाको जोखिमबाट कसरी बच्ने भन्ने चिन्ता छ । काममा लगाउँदा मास्क, स्यानिटाइजर उपलब्ध गराउने, कार्यस्थलमा सावुन पानीले हात धुने व्यवस्था गर्ने लगायतका सहमति चिया उद्योगीले गरेका थिए । तर, त्यसको पूर्ण कार्यान्वयन हुन सकिरहेको छैन । ‘अस्ति पत्रकार आउँदैछन् भन्ने थाहा भएर होला एक पटक हात धुने व्यवस्था गरिएको थियो । अहिले छैन’, चिया श्रमिक उषा उप्रेतीले भनिन् ।

कोरोना संक्रमणको महामारी चलिरहँदा पनि चिया मजदुर निरन्तर काममा सक्रिय छन् । दैनिक छाक टार्न समस्या भएपछि लक डाउनका बेला पनि जोखिम मोलेर हरियो पत्ती संकलन र प्रशोधनमा खटिएका मजदूर उद्योगीले नाफा घाटाको हिसाव मात्रै गरेको तर आफूहरुको स्वास्थ्यप्रति संवेदनशीलता नदेखाएको गुनासो गर्छन् ।

नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङले मजदूरको स्वास्थ्य सुरक्षामा पनि उद्योगीले खेलवाड गरेको बताए । न्युनतम् ज्याला, त्यो पनि समयमा नपाउँदाको पीडाले चिया मजदूरलाई झन् निराश बनाएको छ । अझ जोखिम मोलेर स्वास्थ्य सुरक्षा सामग्री विना काम गर्नु पर्दा उनीहरु सरकारी निकायले किन नबोलेको होला भनेर प्रश्न गरिरहेका छन् ।