बिर्तामोडमा भुसको आगोसरि कोरोना फैलिँदै, रत्न र प्रसाई मार्केट सिल बिर्तामोडमा भुसको आगोसरि कोरोना फैलिँदै, रत्न र प्रसाई मार्केट सिल
झापा– बिर्तामोडमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि बजारबासी त्रसित भएका छन् । बिर्तामोडको रत्न सुपर मार्केटमा सुनचाँदी व्यवसायीका परिवारका दुई जना महिला सदस्यमा कोरोना भाइरसको... बिर्तामोडमा भुसको आगोसरि कोरोना फैलिँदै, रत्न र प्रसाई मार्केट सिल

झापा– बिर्तामोडमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि बजारबासी त्रसित भएका छन् । बिर्तामोडको रत्न सुपर मार्केटमा सुनचाँदी व्यवसायीका परिवारका दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बजारमा त्रास बढेको हो ।

आइतवार संक्रमण पुष्टि भएपछि नगरपालिकाले उद्योग वाणिज्य सङ्घ बिर्तामोड र इलाका प्रहरी कार्यालयको सहयोगमा रत्न सुपर मार्केट र प्रसाई मार्केट सिल गरेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई सुनचाँदी व्यवसायीको परिवारका दुई जना सदस्यमा संक्रमण पुष्टि भएपछि आपसी समन्वयमा बिर्तामोडका दुई वटा बजार सिल गरिएको बताए ।

‘समुदायस्तरमा संक्रमण देखिनु बिर्तामोडका लागि थप जोखिम र खतराको संकेत हो’, अध्यक्ष भट्टराईले भने, ‘संक्रमणबाट जोगिन अब कडाइपूर्वक लक डाउनमा जानुको कुनै विकल्प छैन ।’ दुई जना महिलामा संक्रमण भएपछि नगरपालिकाले उनीहरुको सम्पर्कमा आएका ११० जनाको नाम तयार पारेको छ । तत्काल उनीहरुको पीसीआर जाँच गर्ने तयारी भइरहेको छ ।

व्यवसायिक प्रयोजनका सिलसिलामा समेत कहीँकतै नहिँडेका उनीहरुमा संक्रमण कसरी भयो भन्ने विषय अझै अन्योलमा छ । यसका आधारमा कतिपयले विर्तामोडमा संक्रमण भुसको आगोसरि फैलिने खतरा रहेको आँकलन गरेका छन् । यद्यपि परीक्षणको दायरा फराकिलो बनाउँदै लगे मात्रै संक्रमित पहिचान हुने स्थानीय बताउँछन् । यसअघि बिर्तामोड नगरपालिकाले एक हजार भन्दा बढीको पीसीआर परीक्षण गरेको थियो ।