काँकडभिट्टा नाकाबाट चार महिनापछि पेट्रोलियम पदार्थको आयात सुरु काँकडभिट्टा नाकाबाट चार महिनापछि पेट्रोलियम पदार्थको आयात सुरु
काँकडभिट्टा नाकाबाट चार महिनापछि पेट्रोलियम पदार्थको आयात सुरु भएको छ । यसैसातादेखि पेट्रोलियम लोड भएका ट्याङ्कर नेपाल भित्रिन थालेको मेची पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको... काँकडभिट्टा नाकाबाट चार महिनापछि पेट्रोलियम पदार्थको आयात सुरु

काँकडभिट्टा नाकाबाट चार महिनापछि पेट्रोलियम पदार्थको आयात सुरु भएको छ । यसैसातादेखि पेट्रोलियम लोड भएका ट्याङ्कर नेपाल भित्रिन थालेको मेची पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको छ । एशोसिएसनका अध्यक्ष नवीन कोइरालाले चालक तथा सह चालकको कोरोना परीक्षण रिपोर्टका आधारमा भारतीय आयल निगमले तेल उपलब्ध गराउन थालेको जानकारी दिए ।

आयात रोकिएको चार महिनापछि अहिले ट्रायलका रुपमा मात्रै पेट्रोलियम आयात भइरहेको हो । नौवटा ट्याङ्करमा पेट्रोलियम पदार्थ भित्रिएको छ । ‘हिजो मात्रै सात ट्याङ्कर तेल आइपुगेको छ’, अध्यक्ष कोइरालाले भने । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै भारतको पश्चिम बंगाल राज्य सरकारले नेपालमा लक डाउन सुरु भएपछि पेट्रोलियम पदार्थको आयातमा प्रतिवन्ध लगाएको थियो ।

कुनै रित्तो गाडी समेत नपठाउनु भन्ने भारतीय अधिकारीको भनाइपछि नेपालबाट कृषिजन्य उत्पादनको निर्यात पनि अवरुद्ध भएको थियो । अहिले सहज रुपमा कृषि उत्पादन निकासी भइरहे पनि पेट्रोलियम आयात भने यसै साताबाट मात्रै सुरु भएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।

भारतीय आयल कर्पाेरेशनले चार महिनापछि नेपाली ट्र्याङ्करका चालक र सह चालकको कोरोना जाँच रिपोर्टका आधारमा अहिले पेट्रोलियम पदार्थ उपलब्ध गराउन थालेको प्रमुख भन्सार अधिकृत ध्रुवकुमार विश्वकर्माले बताए ।

नेपाल आयल निगमले ५४ वटा ट्याङ्करमार्फत सिलगुडीबाट काँकडभिट्टा नाका हुँदै पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । चालक तथा सहचालक सबैको पीसीआर परीक्षण भइनसकेकाले नियमित पेट्रोलियम पदार्थ आउन भने सकेको छैन ।

परीक्षण रिपोर्ट आउन ढिलाई भइरहेका कारण निगमले सबै ट्याङ्कर पठाउन नसकेको हो । पश्चिम बंगालबाट पेट्रोलियम आयात ठप्प भएपछि मेची भन्सार कार्यालयले दैनिक दुई करोड रुपैयाँ राजस्व गुमाउनु परेको जनाउँदै आएको थियो । काँकडभिट्टाबाट रोकिँदा व्यवसायीले अमलेखगञ्जबाट पेट्रोलियम ढुवानी गर्दै आएका थिए ।