जरिवाना तिरेर उम्किए ५५ हजार चालक, पटक–पटक तिर्छन् जरिवाना जरिवाना तिरेर उम्किए ५५ हजार चालक, पटक–पटक तिर्छन् जरिवाना
झापा– एकपटक कारवाही भोगेर पनि चेत्न नसकेका सवारी चालकको संख्या झापामा बढ्दै गएको छ । झापामा पछिल्लो एक वर्षमा मात्रै ५५ हजार सवारी चालक... जरिवाना तिरेर उम्किए ५५ हजार चालक, पटक–पटक तिर्छन् जरिवाना

झापा– एकपटक कारवाही भोगेर पनि चेत्न नसकेका सवारी चालकको संख्या झापामा बढ्दै गएको छ । झापामा पछिल्लो एक वर्षमा मात्रै ५५ हजार सवारी चालक कार्वाहीमा परेका छन् । ट्राफिक नियम उलङ्घन गरेपछि जरिवाना तिरेर एकपटक उन्मुक्ति पाएका सवारी चालक पटक–पटक कार्वाहीमा परिरहेको ट्राफिक प्रहरीको अनुभव छ ।

ट्राफिक प्रहरीले चालकमाथि गरेको कारवाही सङ्ख्याले पनि उनीहरुको पेशागत आचरण सुध्रिन नसकेको देखिन्छ । कारवाही भोगेर पनि चालकहरु दिन प्रतिदिन थेत्तरा बन्दै गइरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगु भन्छन्, ‘ट्राफिक प्रहरीलाई दिइएको जरिवानाको सीमित अधिकारले मात्रै चालकहरुको आचरण सुध्रिएला जस्तो लाग्दैन ।’

जरिवाना तिरेपछि ट्राफिक नियम पालना नगर्दा पनि हुन्छ भन्ने सोच चालकहरुमा व्याप्त छ । सवारी नियम पालना नगर्नेमा सबै भन्दाबढी मोटरसाइकल चालक छन् । सवारी नियम पालना नगर्ने चालकमाथि कारवाही तीव्र पारिए पनि दुर्घटनामा भने कमी आउन सकेको छैन ।

गत आर्थिक वर्षमा झापामा ६२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रहरी निरीक्षक जवेगुले जानकारी दिए । सीमित स्रोत साधन र जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापनलाई चुस्त गर्न नसकिएको स्वयम् ट्राफिक प्रहरीको स्वीकारोक्ति छ ।

चालकमाथि कारवाही गर्दा एक वर्षमा चार करोड रुपैयाँ राजस्व उठे पनि नियम उलङ्घन गर्ने क्रम रोकिएको छैन । जरिवाना तिरेर उम्किनुलाई चालकले सबैभन्दा ठूलो उपाय सम्झिन थालेपछि यसको विकल्प खोज्नै पर्ने देखिएको छ ।